मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न

इन्भेष्टाेपेपर ।  वैशाख २५, २०७९

चितवन । देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा शङ्कर लौडारीले जानकारी दिनुभयो ।

सम्मेलनमा विश्व र नेपालमा मुटुरोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । समाजका अध्यक्ष प्रा डा मणिप्रसाद गौतमले अहिले नेपालमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ–नयाँ प्रविधिका बारेमा अनुभव आदान–प्रदानको माध्यमबाट थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी भएको बताउनुभयो ।

वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेको सो अवसरमा बताइएको थियो । हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै मुटुरोगी यसको सबैभन्दा बढी जोखिममा हुने बताइएको छ ।

सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी २६ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत गरिएको थियो । शोधपत्रमार्फत चिकित्सकले मुटु तथा फोक्सोसम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधिबारे जानकारी दिइएको थियो । राज्यलाई पनि प्रस्तुत वैज्ञानिक शोधपत्रले नेपालमा मुटुरोगको अवस्था, समस्या र प्रविधिबारे जानकारी मिल्ने समाजका उपाध्यक्ष डा सुधीर रेग्मीले बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नमाथि विशेष छलफल गरिएको थियो । कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्सलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्डियाक सोसाइटीका अध्यक्ष प्रा डा विजय राजवंशी, सिमोनका अध्यक्ष प्रा डा अरुण मास्के, प्रा डा दिवाकर शर्मा, प्रा डा रोशन राउत, डा श्यामराज रेग्मीलगायतका मुटुरोग विशेषज्ञहरूको सहभागिता थियो । सो अवसरमा वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवं अन्य चिकित्सकहरूलाई सम्मान पनि गरिएको थियो । समाजले पहिलोपटक यो सम्मेलनको आयोजना गरेको बताइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *