U-19 विश्वकप क्रिकेट छनोट: मलेशियालाई आठ विकेटले जित्दै नेपाल दाश्राे स्थानमा उक्लियाे
Investopaper, वैशाख ०२, २०७६
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली टिमका पवन सर्राफ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ८.५ ओभर बलिङ गर्दा १३ रन दिएर तीन विकेट लिएका थिए ।
६ देश सम्मिलित अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको छ। यो विजयसँगै नेपाल अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ।
नेपालका स्पिनरद्वय पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिएपछि नेपालले आयोजक मलेशियालाई ३३.५ ओभरमा ९२ रनमा सीमित पार्यो।
दोस्रो इनिङ्समा ब्याटिङ गर्दा नेपालले १९ ओभरमै उक्त लक्ष्य पूरा गर्यो। प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ३९ रन बनाए भने आसिफ शेख र सर्राफले क्रमश: २६ र १९ रन बनाए।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली टिमका पवन सर्राफ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ८.५ ओभर बलिङ गर्दा १३ रन दिएर तीन विकेट लिएका थिए ।
टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै मलेशियालाई दबावमा राखेको थियो।
तीन खेलपछि दुई जितमा बटुलेको चार अङ्कसहित नेपाल दोस्रो स्थानमा छ। दोस्रो खेलमा नेपाललाई हराएको यूएई छ अङ्क सहित शीर्ष स्थानमा छ।
छ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगिताका स्थान पाउनेछ।
