नेपाल गरिबी र पछ्यौटेपनमा रहन सक्दैन : अध्यक्ष ओली

इन्भेष्टोपेपर । चैत्र ०१, २०७८

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले पर्सा जिल्लाका जनप्रतिनिधिसहित जनता समाजवादी पार्टीका विभिन्न कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउनुभएको छ।

एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्च र युवा सङ्घ नेपाल, भक्तपुर शाखाले मंगलबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पर्साको पोखरिया नगरपालिकाका–६ का वडाध्यक्ष सियानन्दप्रसाद चौहान र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोलगायतलाई प्रवेश गराउनुभएको हो।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको देश बनाउने सही बाटो र गन्तव्यलाई मान्दै अहिले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउनुभयो।

हिमाल, पहाड र तराईका प्राकृतिक विविधतायुक्त नेपाल गरिबी र पछ्यौटेपनमा रहिरहन नसक्ने बताउनुभयो। उहाँले नेपालले आफ्नो उत्पादन गरेर अरु मुलुकलाई निर्यात बढाउनेतर्फका योजना अघि सारेर आत्मनिर्भर मुलुक बनाउने एमालेको अभियानमा साथ दिन आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले औद्योगिक क्षेत्रको विस्तार, उत्पादन र रोजगारी बढाएर मुलुकलाई राष्ट्रिय अर्थतन्त्रलाई माथि लान सीता जन्मभूमि जानकी क्षेत्रको मधेस प्रदेश सक्षम भएको बताउनुभयो। उहाँले आफ्नो सरकारको कार्यकालमा सुरु भएको वीरगञ्ज–काठमाडौँ रेलजस्ता आयोजना अघि बढाउन एमालेले पुनः सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले मधेश जागरण अभियान सञ्चालन गर्दा अवरोध गर्न खोज्नेले अहिले पछुताउन थालेको जनाउँदै मधेशको समृद्धि र विकासका लागि अध्यक्ष ओली नेतृत्वकै सरकारले काम गरेको जिकिर गर्नुभयो।

युवासङ्घका अध्यक्ष किरण पौडेलले एमालेमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *