प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिताको उपाधि नेपाल पुलिस क्लवलाई
Investopaper, जेष्ठ २५, २०७६
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवलाई ४ विकेटले पराजित गरी पुलिसले प्रधानमन्त्रीकपको तेस्रो संस्करणकाे उपाधि जितेको हो ।
तीनै संस्करणमा फाइनलमा पुगेको आर्मी भने यसपल्ट पनि उपविजेतामै समेटिएको छ। आर्मी अघिल्लो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो। त्यसैगरि पहिलाे संस्करणमा वर्षाले खेल प्रभावित हुनाले त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवलाइ संयुक्त विजेता घाेषणा गरिएकाे थियाे ।
टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले सुरुआत उत्कृष्ट गरेको थियो। राजु रिजाल र सोमपाल कामीले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। सोमपालले ४० बलमा ३ चौका र २ छक्काको सहयोगमा ३५ तथा ६० बल खेलेर ३२ रन जोडेका राजुले ५ चौका प्रहार गरे।
१६ औं ओभरको अन्तिम बलमा ललित राजवंशीले सोमपाललाई आउट गरे। अर्को ओभरमा राजु पनि आउट भएपछि आर्मी ७२-२ को स्थितिमा थियो। मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रहँदा आर्मीले थप ५४ रन जोड्दा बाँकी ८ विकेट खेर फाल्यो। आर्मी ३३.३ ओभरमा १ सय २५ रनमै अलआउट भएको हो।

झिनाे लक्ष पच्छ्याएकाे पुलिसको पनि सुरुआत कमजोर थियो ओपनर अनिल कुमार साह २ रनको स्कोरमै आउट भएपछि आएका अमित श्रेष्ठले अर्का ओपनर सुनील धमलासँग मिलेर ५२ रनको साझेदारी गरे। ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाएर अमित आउट भए।
शुरूवाती व्याट्समेन सुनील धमलाले एउटा साइडबाट विकेट जोगाए पनि अर्को एण्डबाट विकेट झरिरहेको थियो। सुनीलले १ सय ३१ बलमा २ चौकाको सहयोगमा नटआउट ४२ रन बनाएपछि पुलिसले ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कप्तान मन्जित श्रेष्ठ पनि ११ रनमा नटआउट रहे।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोली नेपाल पुलिस क्लवले रु २० लाख तथा उपविजेता त्रिभुवन आर्मी क्लवले रु १० लाख प्राप्त गरेका छन।
