‘ग्लोबल पिस इन्डेक्स’मा नेपाल ७६औँ स्थानमा, १२ स्थान सुधार

Investopaper, मंसिर १०, २०७६

नेपालको शान्ति सुरक्षाको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय मूल्यांकनले देखाएको छ । इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आइइपी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘ग्लोबल पिस इन्डेक्स’मा नेपालको १२ स्थान सुधार भएको छ । 

सन् २०१९ मा १६३ देशमध्ये नेपाल ७६औँ स्थानमा उक्लिएको छ । नेपाल अघिल्लो वर्ष ८८ स्थानमा थियो जसलाई नेपाली अधिकारीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । आइइपीले २०१९ को रिपोर्ट गत साता सार्वजनिक गरेको हो । 

सबैभन्दा सुरक्षित देशमा आइसल्यान्ड रहेको छ । त्यसपछि न्युजिल्यान्ड, पोर्चुगल, अस्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापुर, स्लोभेनिया, जापान र चेक रिपब्लिक विश्वका १० शान्त देशमा परेका छन् । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भुटान १५ तथा श्रीलंका ७२औँ स्थानमा छ । 

भारत १४१, चीन ११० र पाकिस्तान १५३औँ स्थानमा छ । सबैभन्दा अशान्त देशको पुछारमा अफगानिस्तान, सिरिया, दक्षिण सुडान, यमन, इराक र सोमालिया छन् । आन्तरिक द्वन्द्व, अन्तर्राष्ट्रिय लडाइँ, आतंकवादी गतिविधि, हतियार आयात, प्रहरीको संख्या, छिमेकी देशसँगको सम्बन्ध, शरणार्थी, राजनीतिक स्थिरता, हत्याको संख्यालगायत विभिन्न २३ वटा सूचकका आधारमा आइइपीले गरेको मूल्यांकन गरेको हो ।

राजनीतिक स्थिरताले शान्ति सुरक्षाको अवस्थामा सुधार

राजनीतिक स्थिरताका कारण पनि पिस इन्डेक्समा सुधार आएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । नेपाल विश्वकै शान्त देशको सूचीमा पर्न सक्ने भए पनि विप्लव समूहको गतिविधि र भारतसँगको खुला सिमानाका कारण हुने अपराधका कारण पछि परेको उनीहरू बताउँछन् । शान्ति सुरक्षामा सुधार हुनुले विदेशी लगानी तथा पर्यटक भित्र्याउन सहज हुने सरकारी अधिकारीहरू बताउँछन् । ‘एक वर्षमा १२ स्थान सुधार हुनु हाम्रा लागि खुसीको कुरा हो,’ गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले भने । याे समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *