‘नेपाल भ्रमण दशक २०२३–२०३३’ मन्त्रिपरिषदबाट स्वीकृत

इन्भेष्टोपेपर । असाैज ९, २०७९

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछिको पर्यटन उत्थानको उद्देश्य राखेर तयार गरिएको ‘नेपाल भ्रमण दशक २०२३–२०३३’ योजना मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । शुक्रवार स्वीकृत गरिएको योजनामा दुईपटकसम्म भ्रमण वर्ष मनाइसकेको नेपालले दिगो पर्यटन र बाह्रै मास पर्यटकीय गतिविधि बढाएर पर्यटक आगमन वृद्धि गर्न आगामी वर्षदेखि ‘नेपाल भ्रमण दशक’ शुरू गर्ने भनिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्को बैठकले उक्त योजना स्वीकृत गरेको जानकारी दिएका हुन् । पर्यटन मन्त्रालयले पर्यटनको पुनरुत्थानका लागि बनाएको ७३ बुँदे मार्गदर्शनमा पनि नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउने योजना अघि सारिएको छ । उक्त योजना कार्यान्वयनमा लैजान स्वीकृति पाएको उनले बताएका हुन् ।

होटेल एशोसिएशन नेपाल (हान) ले अर्धवार्षिक साधारणसभा र कफी टेबल बुक (नेपाल : अ जर्नी फ्रम इस्ट टु वेस्ट)को उद्धाटन गर्न शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । ‘दुईपटक भ्रमण वर्ष भयो तर २०२० को भने कोभिडका कारण गर्न सकिएन,’ श्रेष्ठले भने, ‘१ वर्ष गर्ने र अरू वर्ष नगरी बस्नेभन्दा पनि १ दशकसम्म के कति गर्न सकिन्छ, पर्यटनको निरन्तर काम र चर्चा परिचर्चाका लागि दशक शुरू गरिनेछ ।’ यो दशकमा पर्यटन प्रवर्द्धन र गन्तव्य विस्तारमा पनि उत्तिकै योगदान पुग्ने उनको भनाइ छ ।

एक दशकसम्म पर्यटनलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने र निरन्तर सोहीअनुसार बजेट तथा कार्यक्रमहरू गर्ने उनले बताए । १५औं योजनाले ५० लाख पर्यटक नेपालमा ल्याउने परिकल्पना गरेको भन्दै उनले सोही लक्ष्य प्राप्त गर्न काम गरिने बताए । साथै उनले व्यवहार र नीतिगत रूपमै होटेललाई उद्योगका रूपमा स्थापित गरिने प्रतिबद्धता पनि व्यक्त गरे । यो क्षेत्रको योगदानलाई पुन: मूल्यांकन गरेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यो क्षेत्रले दिएको योगदानको वास्तविक मूल्यांकन र तथ्यांक निकालिने मन्त्री श्रेष्ठले बताए ।

उक्त अवसरमा हानकी अध्यक्ष सृजना राणाले सरकारले लिएको अभियानमा सहकार्य र सहयोग गर्ने बताइन् । यो अभियानलाई पूर्ण रूपमा सफल बनाउन सरकारसँग सहकार्य र तयारी गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् । सरकारको यो अभियान सराहनीय भएको भन्दै राणाले थपिन्, ‘यो अभियानलाई सबै सिजन वा वर्षभर नै प्रवर्द्धन गरिनुपर्छ ।’ 

कोभिडअगाडि जीडीपीमा पर्यटनको योगदान १० दशमलव ४ प्रतिशत रहेको उनले बताइन् । नेपालको होटेल क्षेत्रमा अनुमानित १५ खर्ब रूपैयाँ लगानी भएको भन्दै उनले कोभिडको समयमा १ अर्ब ८० करोड रूपैयाँको क्षति पुगेको बताइन् । पर्यटन क्षेत्रमा १० लाख २७ हजारभन्दा बढीले रोजगारी पाएको उनको दाबी छ । सरकारले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिनुपर्ने भन्दै राणाले थपिन्, ‘माग र आपूर्तिका आधारमा मात्रै होटेल लाइसेन्स उपलब्ध गराऔं र होटेलहरू दर्ता भएको वा नभएको, नियमअनुसार कर तिरे/नतिरेको विषय पनि यकीन गरौं ।’
 
कार्यक्रममा सार्वजनिक गरिएको पुस्तकका विषयमा जानकारी दिँदै हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटकको बसाइ लम्बियोस्, नेपालमा थप आकर्षण बढोस् भन्ने उद्देश्यले पुस्तक सार्वजनिक गरिएको बताए ।

यो पुस्तकमा पूर्वदेखि पश्चिमसम्मका गन्तव्य, संस्कृति, कला, खानपानदेखि साहसिक गन्तव्य, योग, आयुर्वेदका साथै माइस पर्यटन, खेल पर्यटनका गन्तव्यहरू समेटिएको र यसले पर्यटन प्रडक्टहरू पनि बढ्ने उनले बताए । यसैगरी शनिवार नै ‘नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२’ को उद्धाटन गरिएको छ । उक्त कन्क्लेभमा पर्यटनसम्बन्धी विभिन्न सातओटा विषयमा आइतवार कार्यक्रम हुनेछ ।

कोभिडका कारण नेपाल भ्रमण वर्ष मनाउने वर्ष सन् २०२० मै पर्यटकको संख्या सन् २०१९ को तुलनामा ८१ प्रतिशतले घटेर २ लाखमा झरेको थियो । सन् २०२१ मा पनि पर्यटक आगमन निरन्तर ओरालो लागे पनि सन् २०२२ मा भने सुधार देखिएको छ । याे समाचार अार्थिक अभियान दैनिकबाट लिइएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *