देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री

न्भेष्टाेपेपर । कात्तिक १७, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ । 

नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालले आफ्नो परिचय बनाउन संस्कृति, कला, मूर्तिकला, काष्ठकला र चित्रकला नृत्यकला, वाद्यवादन र गायनलगायत विधाले योगदान गरेका छन्, यी सबैमा मौलिकता छ, मुलुकको सबैभन्दा समृद्ध मौलिकता नेपाल भाषा र संस्कृतिमा छ ।”

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शङ्खधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु. १५ लाख रकम दिएको जानकारी पनि गराउनुुभयो ।

मुलुक भौगोलिक विविधता, वनस्पतीय विविधता, जैविक विविधता, सामाजिक विविधता, भाषिक विविधता र सांस्कृतिक विविधतायुक्त भएको बताउँदै प्रधानमन्त्रीले यी सबै विविधतामध्ये समृद्ध संस्कृति नेवार संस्कृति भएको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति कुनै एउटा जाति विशेषको मात्र नभएर सिङ्गो देशको संस्कृति हो भन्नुभयो । 

प्रधानमन्त्रीले मुलुकका मौलिक, भाषा, संस्कृति र साहित्यको विकासका खातिर राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र नेपाल भाषामा समाचार तथा विविध कार्यक्रम प्रकाशन एवं प्रसारण गर्दै आएका जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले सरकार गरिबको सुखदुःखको साथी बन्दै आएको बताउँदै भन्नुभयो, “जो गरिब छ, जो ऋणी छ, उसलाई ऋणमुक्त गर्नुपर्छ ।” समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने बताउँदै नेपाली भाषालाई वैकल्पिक विषयका रुपमा विद्यालय र विश्वविद्यालयमा अध्ययन अध्यापन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले नेपाल संवतलाई सबै समुदायको दिवसका रुपमा मनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल संवत् ११४५ दिवस मूल समारोह समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले शङ्खधर साख्वाबारे थप अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्रतिष्ठान गठन तथा उहाँका नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्न माग गर्नुभयो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *