आवधिक कर्जाको ब्याजदर स्थिर राख्न राष्ट्र बैंकको नयाँ निर्देशन
इन्भेष्टोपेपर । भाद्र २४, २०७७
नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर कायम गर्न निर्देशन दिइएको छ । यस नियमले स्थिर पूँजीकाे लागि कर्जालिने,घर कर्जा लिने र गाडी खरिदका लागि कर्जा लिनेलाई राहत भएकाे छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै यस्तो कर्जाको ब्याज कर्जा अवधिभर फिक्स गर्न भनेको हो । यो व्यवस्था सहित बीचबीचमा कर्जाको ब्याजदर बढाउँदै आएका बैंकको मनोमानी अर्काे व्यवस्था नभएसम्मका लागि सकिएको छ ।
अब गाडी तथा घर कर्जाको ब्याजमा परिवर्तन गर्न नपाउने भएपछि ऋण लिदा तय भएको कर्जाको ब्याजदर मै ऋणीले कर्जा पाउने भएका छन् । यस किसिमकाे व्यवस्थाले गर्दा ऋणीले कर्जाको अवधिभर एउटा निश्चित रकम किस्ता तिरे पुग्नेछ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०७६ अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर मासिक रूपमा मात्र परिवर्तन गर्न पाउने भएका छन् । यस्तो ब्याजदर परिवर्तन गर्दा आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ ।
