राष्ट्र बैङ्कको तथ्याङ्क : पर्यटनलाई सबैभन्दा बढी पुनर्कर्जा

इन्भेष्टोपेपर । पुष १५, २०७८

काठमाडौँ ।  कोरोना सङ्क्रमण सुरु भएयता सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रले सबैभन्दा धेरै पुनर्कर्जा पाएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्ममा कुल स्वीकृत ११ अर्ब ८४ करोड चार लाख रुपियाँमध्ये सबैभन्दा बढी ५१.९७ प्रतिशत पुनर्कर्जा पर्यटन क्षेत्रले पाएको छ ।

चालू आर्थिक वर्षको मङ्सिरसम्म जम्मा ११ अर्ब ८४ करोड रुपियाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ । राष्ट्र बैङ्कका अनुसार ९१ कम्पनीले २९ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ११ अर्ब ८४ करोड सात लाख रुपियाँ पुनर्कर्जा प्राप्त गरेका हुन् ।

राष्ट्र बैङ्कका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ व्यवसायले मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा पाएको छ ।

पर्यटनपछि जलविद्युत् क्षेत्रले दुई अर्ब ३५ करोड ७१ लाख (१९.९१ प्रतिशत), उत्पादनमूलक क्षेत्रले एक अर्ब ९७ करोड ५१ लाख (१६.६८ प्रतिशत), शिक्षा क्षेत्रले ८५ करोड ४९ लाख (७.२२ प्रतिशत), यातायात क्षेत्रले २४ करोड ५३ लाख (दुई प्रतिशत), अस्पताल क्षेत्रले २० करोड (१.६९ प्रतिशत) र कपडा व्यवसायको क्षेत्रले पाँच करोड ४७ लाख (०.४६ प्रतिशत) पुनर्कर्जा पाएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार सबैभन्दा बढी पुनर्कर्जा बागमती प्रदेशबाट माग भएको देखिएको छ । कुल पुनर्कर्जा बागमती प्रदेशको हिस्सा ४७.६६ प्रतिशत रहेको छ । बागमती प्रदेशका कम्पनीको पाँच अर्ब ६६ करोड ६६ लाख रुपियाँ पुनर्कर्जा स्वीकृत भएको छ । दोस्रो ठूलो पुनर्कर्जा प्राप्त गर्नेमा भने लुम्बिनी प्रदेशका कम्पनीले पाएका छन् । कुल कर्जामा लुम्बिनी प्रदेशको हिस्सा २२.६६ प्रतिशत छ । लुम्बिनी प्रदेशका कम्पनीहरूले दुई अर्ब ६८ करोड ३६ लाख रुपियाँ बराबरको पुनर्कर्जा उपयोग गरेका छन् । सबैभन्दा कम पुनर्कर्जा सुदूरपश्चिम प्रदेशको ०.८३ प्रतिशत मात्रै स्वीकृत भएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *