लायन्स क्लबद्वारा ‘अक्सिजन बैंक’ काे शुभारम्भ, विपन्नलाई निःशुल्क

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७

काठमाडौं। घरमै बसेर कोभिड-१९ को उपचार गराइरहनुभएको छ ? अक्सिजन भेटिएन ? चिन्ता गर्नुपर्दैन। एक फोनमै सहजै अक्सिजन पाइन्छ। त्यो पनि सित्तैमा। कोभिड-१९ को बढ्दो संक्रमणका कारण अस्पतालमा चाप बढेको छ। बेड पाउन मुस्किल छ। यस्तोमा घरबाटै उपचार गराउनु बिस्तारै बाध्यता बन्न सक्छ। त्यस्ता बिरामीलाई यो सुविधा उपयोगी हुन सक्छ।

त्यसका लागि लायन्स क्लब अफ काठमाडौं समर्पणले शनिबार राजधानीमा ‘अक्सिजन बैंक’ शुभारम्भ गरेको छ। उक्त बैंकको सेवा घरमै उपचार गराउने बिरामीमा केन्द्रित छ। यसले बिरामीलाई आवश्यक परेको समयमा निःशुल्क अक्सिजन उपलब्ध गराउनेछ। क्लबका अनुसार विपन्न वर्गका बिरामीलाई बिनाधरौटी अक्सिजन दिइनेछ। आफू विपन्न भएको प्रमाण नभएका व्यक्तिको हकमा १० हजार रुपैयाँ धरौटी भने राख्नुपर्नेछ। विपन्नताको दुरुपयोग नहोस् भनेर फारम भर्ने व्यवस्था गरिएको क्लबले जनाएको छ।

‘कोरोना महामारी फैलिँदै जाँदा घरमै श्वासप्रश्वाससम्बन्धी उपचार गराइरहेका बिरामीलाई कसरी सहयोग गर्नेे ? सोच्दै जाँदा यो उपाय फुरेको हो’, क्लबका अध्यक्ष दीपक बंशलले भने, ‘अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ। घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराउनु बाध्यता बन्दै गएको छ। त्यस्ता बिरामीलाई अक्सिजन निःशुल्क उपलब्ध गराउनेछौं।’

क्लबले आफ्नो आउटलेट कलंकी र सानेपामा राखेको छ। बिरामीले कार्यालयमा सम्पर्क राखेर अक्सिजन लैजान सक्नेछन्। बिरामी वा आफन्तले ९८१३१८६४८४ मा फोन वा एसएमएस गरे अक्सिजन उपलब्ध हुनेछ। माग बढे आउटलेट थप्दै जाने उनको भनाइ छ। यसमा लायन्सले अक्सिजन प्लान्ट उद्योगहरूसँग सहकार्य गरेको छ।

यस प्रयोजनका लागि २ सय सिलिन्डर अक्सिजन तयारी अवस्थामा राखिएको लायन्स क्लब्स इन्टरनेसनलका डिस्ट्रिक्ट गभर्नर मानबहादुर रोकाले बताए। ‘आवश्यकताअनुसार बढाउँदै जानेछौं’, उनले भने। एकपटक प्रयोगमा आइसकेको सिलिन्डर फिर्ता गरी रिफिलिङ गर्ने उनले बताए। वंशलका अनुसार एउटा सानो सिलिन्डरले चारदेखि पाँच घण्टासम्म अक्सिजन प्रदान गर्न सक्छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *