पद्म ज्योति ग्रुप र ‘रिच्स’ बीचको सहकार्य विस्तार

इन्भेष्टाेपेपर ।  फागुन १३, २०८२

काठमाण्डौ । नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’ सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ। यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्।

‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आए तापनि, यो नयाँ सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्राउन विशेष रणनीतिक भूमिका खेल्नेछ।

सन् १९४५ मा स्थापित ‘रिच्स’ ८० वर्षभन्दा लामो विश्वव्यापी विरासत बोकेको एक पारिवारिक खाद्य कम्पनी हो, जसले भारतमा मात्रै ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको छ। ‘नन–डेयरी ह्विप्ड टपिङ’  को उत्पादनमा विश्वमै अग्रणी मानिने यस कम्पनीले आधुनिक बेकरी, डेजर्ट र फुडसर्भिसको क्षेत्रलाई नयाँ आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।

पद्म ज्योति ग्रुपसँगको यो विस्तारित सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित छैन। यसले ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउन सेफहरूसँगको प्रत्यक्ष समन्वय, प्रयोगात्मक प्राविधिक तालिम र ज्ञान आदानप्रदानमा विशेष जोड दिनेछ। यस पहलको मुख्य उद्देश्य ‘रिच्स’ को विश्वस्तरीय प्राविधिक विशेषज्ञता र उत्पादनको सही प्रयोगबारे नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई जानकारी गराउनु हो। जसले गर्दा उनीहरूले विश्वव्यापी नयाँ ट्रेन्डहरू अपनाउन, खानाको स्वाद र गुणस्तरमा एकरूपता ल्याउन तथा आफ्नो मेनुलाई अझै उत्कृष्ट र नयाँपन दिन सकून्।

पद्म ज्योति ग्रुपले सन् २००७ मा ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि’ मार्फत एफएमसीजी क्षेत्रमा प्रवेश गरेको थियो। पद्म ज्योति ग्रुपका अध्यक्ष श्री सौरभ ज्योतिको कुशल नेतृत्वमा यस संस्थाले नेपाली बजारको बदलिँदो जीवनशैली, स्वाद र आकांक्षाहरूलाई सम्बोधन गर्दै निरन्तर उच्च गुणस्तरका समसामयिक खाद्य उत्पादनहरू भित्राउन ध्यान केन्द्रित गर्दै आएको छ।

पद्म ज्योति ग्रुप र रिच्स इन्डियाबीचको यो विस्तारित सहकार्यले नेपालको पाककला र हस्पिटालिटी क्षेत्रलाई नयाँ दिशा र उचाइ दिनेछ। विश्वस्तरीय विशेषज्ञता र स्थानीय बजारको मजबुत सञ्जालको यो संगमले देशैभर उत्कृष्ट उत्पादन, गहिरो प्राविधिक ज्ञान र उत्कृष्ट खाद्य अनुभव प्रदान गर्दै एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *