पाेखरा विमान दुर्घटना : ६८ जनाको मृत्यु भएको पुष्टि, बाँकी ४ जनाकाे खाेजी कार्य जारी
इन्भेष्टाेपेपर । माघ २ २०७९
पाेखरा । पोखरामा आइतवार यती एअरलाइन्स विमान दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । भेटिएका ६८ शवहरूमध्ये क्याप्टेन कमल के.सी.सहित ४२ जनाको शव पहिचान भएको यती एअरका कर्मचारी हर्क रावलले जानकारि दिए।
विमानमा सवार कुल ७२ जनामध्ये ४ जनाको खोजी तथा उद्धारको प्रयास जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार करिब ८०० जना सुरक्षाकर्मी खोजी कार्यमा जुटेका छन्।
दुर्घटनास्थलमा फेला परेका सबै ६८ वटा शव अस्पतालमा राखिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको पोस्टमोर्टम कक्ष अगाडि यती एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तको भीड लागेको छ। अधिकारीहरूले आजबाट आफन्त र परिवारलाई शव हस्तान्तरण गर्ने बताएका छन्।
पोखरामा आफन्तले बुझ्न चाहेका शवहरू पोष्टमोर्टमपछि हस्तान्तरण गरिने र बाँकीलाई काठमाण्डू ल्याइने अधिकारीहरूले बताएका छन्। पहिचान खुल्न नसकेका र विदेशी नागरिकका शव पनि काठमाण्डू ल्याइने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
