कविता : दशैँ
— हृदय लेकाली
छन्द :- शार्दूलविक्रीडित
आयो आज दशैँ खुलेर घरमा सन्तोष धेरै बनोस्
सारा बन्धु कुटुम्बको हृदयमा आनन्द नौलो थपोस्
चिन्ताशोक अभावले सकलमा याँक्दै नयाँकोस् कतै
वासन्ती मधुमास झैँ शरदले फोहोर फ्याकोस् सबै।
टाढा दूर कतै नहुन् मनहरू यो पर्वमा मानिस
जे जस्ता परिकार भोजन सबै खाउन् जुटी मानिस
आफ्नो मात्र नभै बुझुन् सकलको मर्का र गर्जो सब
हामी मानिस हौँ सधैँ मनुजको टारौँ समस्या सब।
खुल्ला द्वार रहोस् सधैँ हृदयको जस्तो परे तापनि
भोग्नै पर्छ सबै अनेक पल यी पाएर यो जीवनी
छुद्रो मानिस हुन्छ चोट दिलको काँडा बनी घोच्दछ
दुर्वासा सनकी बनेर सबमा नाना थरी सोच्दछ।
यो हो पर्व दशैँ खुसी र ममता बाँडेर मानौँ दशैँ
यस्तो यो क्षणमा गतिलरी मानौँ मनाऔँ दशैँ
आशीर्वाद लिऔँ लगाइ जमरा टीका निधारै भरी
यो संस्कार कला विशाल दिलमा राखौँ जगेर्ना गरि।
— सिद्धार्थनगर, रूपन्देही
