कविता : ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’
-- केपी शर्मा ओली
अन्जुलीभित्र सजाएर राखेको हिरा नेपाल
यसको स्पन्दन केन्द्र मुटु काठमाडौँ
एउटा बृहत मिलन, सम्मिलन
सङ्कल्प, स्वर्ण हिमवत्खण्डको।
कथा हाँगाबाट भुइँमा, भुइँबाट गुफामा
गुफाबाट यहाँसम्म
एउटा लामो यात्रा,
यात्राको कर्ण भूभाग
प्रेम, घृणा, लडाइँ, उन्माद, आर्तनाद
कठिन तर गौरवको यात्रा
प्रेमपछि प्रेमको कथा
हिमवत्खण्ड।
तर अहिले समय फेरिएको छ
सहरले धेरै कुरा बिर्सिएको छ
ती कथा बिर्सिएको छ
ती गौरव गाथाहरु पनि बिर्सिएको हो कि जस्तो भएको छ
कता–कता मेघबहादुरको बाटोमा जस्तै
खुकुरीले नङ काट्न थाले जस्तै भएको छ
नक्कल धेरै गर्छ,
हल्लाका पछि कुद्छ सहर।
आजकल सहरमा काग–काग कराउँदै उडिरहेछन्
आफ्नै सभ्यता माथिबाटै बाट बिस्ट्याइरहेछन्
ओहो ! भनाभन, साँचो–झुठो, केही प्रवाह छैन
सहरमा खोजी भइरहेको छ हराएको मूर्तिको
आजकल जोडदार सहरमा हराएको मूर्तिको खोजी भइरहेछ ।
मूर्ति आफैं हराएन,
हराउन मद्दत गर्नेको खोजी भइरहेछ
कसले मूर्ति हराउन मद्दत गर्यो होला ?
खोजी भइरहेछ भाइमाराको
खोजी भइरहेछ राष्ट्रिय पकेटमाराको
तानातान छ गतिको रथ र पाङग्राको
अघितिर तान्ने वा पछितिर
तर हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ ।
अलि पर एउटा स्पष्ट गन्तव्य
सबै कुरा छोडेर
त्यही छुन एउटै यात्रा
एउटै गन्तव्य
एउटा यो सानो सम्मिलन
सङ्कल्प, सुवर्ण हिमवत्खण्डको।
सङ्कल्प, सुवर्ण हिमवत्खण्डको।।
