कविता : नयाँ वर्ष

-- हृदय लेकाली (राम बस्नेत)

छन्दः- शार्दूलविक्रीडित

आयो फेरि नवीन वर्ष मनमा उल्लास छर्ने गरी
लाखौ लाख मनुष्यका हृदयमा सन्तोष भर्ने गरी
आए धेर यहाँ कुनै वखतमा ती वर्ष पीडा बनी
राम्रो होस् जनमा नयाँ रहरको यो वर्ष सञ्जीवनी।

टालेका घर छन् विदीर्ण मन छन् संकल्प रित्ता यहाँ
चारैतर्फ छ धेर ऋण पहिरो के धान्छ कित्ता यहाँ
कारोबार छ ठप्प शून्य गतिमा उद्योग धन्दाविना
साह्रै मुस्किल जिन्दगी छ जनको बेहाल कस्तो घना।

आम्दानी कमजोर भो सकलमा देखिन्न आधार नै
सारा शक्ति विदेशमा छिनछिनै खस्किन्छ आधार नै
सारा मानिसमा छ व्याप्त दुख नै कुण्ठा निरासाहरु
अन्योलै छ भविष्य धेर जनको के गर्नु आशाहरु।

आएथे नि अतीतमा घरघरै यस्ता नयाँ बर्ष ती
छाएथे मनमा असाध्य पिरलो पीडा बनी वर्ष ती
थुप्रै रोग अभाव दर्द मनमा गर्यौ नि ती सामना
सारा मानिसले गरे पलपलै त्यो मृत्युको सामना।

यस्तै फेरि यहाँ नयाँ लहरमा आयो नयाँ वर्ष यो
मान्छेका मनमा उमङ्ग र खुसी ल्यायो नयाँ वर्ष यो
मान्छेका घरमा सदैव सह होस् सम्पन्नता दौलत
एकाएक सबै बनुन् मुलुकमा ऐश्वर्यशाली सब।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *