कविता : सङ्कल्प
-- हृदय लेकाली (राम बस्नेत)
छन्द :- शार्दूलविक्रीडित
लाक्षी मानिस रुन्छ धेर बहुतै सम्झेर बासी दिन
आँटी मानिस मोल्छ जोखिम सधैँ सम्झी सुनौलो दिन
ती छाँगा छहरा पहाड नभनी खस्छन् ठुलै बेगले
सानै काम महान हुन्छ दिलको पूरा गरे डेगले।
यस्तो काम भनी पछाडि नसरौँ मेलो सधैँ बँच्दछ
सारा काम गरे त हो सकलमा राम्रो कुरा जच्दछ
मौरीले पनि खोज्छ फूलहरुमा थाक्दै नथाकी रस
राम्रा सार्थक कामले दिनदिनै भित्रिन्छ राम्रो जस।
सारा यो दुनियाँ छ आज फक्रदो कामै त हो आखिर
शिल्पी पौरखले भए छ दुनियाँ हेर्दा झनै सुन्दर
रित्ता ती सपना भएर नहुने चाहिन्छ आत्माबल
मान्छेकै श्रमले छ आज दुनियाँ चारैतिरै उज्वल।
हाम्रा ती मनका अठोट सजिलै पूरा गरौँ कामले
लाग्दा ठेस कतै सुमार्गहरुमा भुलौँ सबै कामले
कोरा भाषण दिन्न शान्ति मनमा चाहिन्छ दाना दह्रो
बाँच्नैपर्छ सबै मनुष्य सुखले चिन्ता विना नै खह्रो।