कविता : विजया दशमी शुभकामना
— कुल थापा
छन्द : शिखरिणी
अयोध्यैका राजा, प्रतापी बडा वीर रामचन्द्रको
पालादेखि आयो, मेला हिन्दूहरुको खुब हर्षको
लिई सानादेखि, बुढा तक सबछन् दंङ्गदास
देखिन्छन् चौतर्फै, सुशोभित लुगा अनेक जात ।
सफा आकाशैमा, मन्दमन्द हवा छ जहाँतहीँ
अनेक दृश्य देख्दा, रङ्गमङ्गिई मोजमै लाग्छ स्वर्ग झै
छन व्यस्त ठिटा, एकाएक कुँदि चङ्गा उडाउन
पुजारी गर्दैछन्, धमाधम आफ्नो कार्य हो जुन ।
सबै मिठो खान्छन्, घरभरी छ अन्न भरिपूर्ण
यसै मौका माहाँ, लाहुरे आउँछन् के छ अपूर्ण
सबै पूजा गर्छन, घरघरमा दुर्गा भवानीको
कुरा खुबै गर्छन्, रातभरी जम्मा भै उमङ्गको ।
चमक्कै पार्दछन्, घरहरुलाई मर्मत गरी
वरीपरी रातै, छ हरयिा घाँसहरु उखेली
अनेकौं रङ्गका, फूलहरु फूल्दछन जस्तै केवरा
टिका थाप्दै जाँदा, सबका शिरमाथि छ जमरा ।
गयो हिलो मैलो, शरद ऋतु छ अझ यसमा
सुनैमा सुगन्धै, छ थपिए सरी यै दशमीमा
मनाऊँ हामीले, सर्वोत्तम चाड मैना आश्विन
सकि कार्य सब्जन्, हिडेका छौ खुसिले रनबन ।
बर्षा आयो गैगो, हरितालिका यौटा मनाईयो
यसैको चोतर्फै, नवरङ्ग छर्दै सूर्योदय भयो
सबैका हात्बाटै, टिाका थापि केरा कुरौनी खाइ
छ शुभकामना, विजया दशमीको साथीभाई ।
आश्विन १, २०३५ चोएगा, गुल्मी
