यान्त्रिक उडानको तयारीमा पोखरा विमानस्थल, १४ मिटर काटियो रिट्ठेपानी डाँडा

इन्भेष्टाेपेपर ।  कार्तिक ३०, २०७९

काठमाडौं ।  ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ । उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि शुरूमा १४ मिटर डाँडा कटान गरिएको हो । 

प्राधिकरणका अनुसार मुलुककै तेस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । 

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि एक साता यान्त्रिक उडान हुने जानकारी दिनुभयाे । यसअघि प्राधिकरणले मङ्सिर १४ गतेदेखि यान्त्रिक उडान गर्ने जनाएको थियो । पोखरा विमानस्थलमा एकसाता यान्त्रिक उडान हुनेछ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।    

यान्त्रिक उडानकोक्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ । ‘पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यान्त्रिक उडानका क्रममा हाल पुरानो विमानस्थलको आन्तरिक उडान पूर्ण रोक्नुपर्छ भनेर एरोथाइका प्राविधिकले भनेका छन् । नयाँ विमानस्थलमा यान्त्रिक उडान गर्नुपर्ने भएकाले पनि उडान तालिका मिलाउने प्रयासमा छौँ,’ प्रवक्ता निरौलाले भन्नुभयाे ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ ।

प्रवक्ता निरौलाका अनुसार पोखरालगायत देशका अन्य विमानस्थलमा यान्त्रिक उडानका लागि एरोथाई कम्पनीको जहाज गत आइतवार नै काठमाडौं आइसकेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाईको जहाज फर्किने प्रवक्ता निरौलाले बताउनुभयाे । एरोथाईको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ । 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकर्मीले बताउनुभयाे । करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाई तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।     

काठमाडौं विमानस्थलमा यान्त्रिक उडान शुरू

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एरोथाईको जहाजबाट यान्त्रिक परीक्षण उडान शुरू भएको छ । आइतवार काठमाडौँ आइपुगेको प्राविधिक उपकरण जडित उक्त जहाजले सोमवारदेखि नै यान्त्रिक उडान शुरू गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयाे । अहिले दिउँसोको समयमा दैनिक पाँच घण्टा यान्त्रिक उडान भइरहेको छ । पाँच दिनसम्म यान्त्रिक उडान हुनेछ । यो उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य रूपमै सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ ।     

काठमाडौँपछि पोखरा विमानस्थलमा यान्त्रिक उडान हुनेछ । पोखरालगत्तै भैरहवा, नेपालगञ्ज, धनगढी, चन्द्रगढीलगायत विमानस्थलमा परीक्षण उडान हुन्छ । यान्त्रिक उडान हरेक वर्ष गरिन्छ । पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण नियमित यान्त्रिक उडान भएको थिएन । प्रवक्ता निरौलाले यान्त्रिक उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चार उपकरणको ‘भेरिफाइड’ गरिने जानकारी दिनुभयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *