नक्कली छोरा बनेर ५० करोडकाे जग्गा हडपने पक्राउ

 इन्भेष्टाेपेपर । असाैज २७, २०७७ 

काठमाडौं । नक्कली कागजात बनाएर ५० करोड मूल्य पर्ने जग्गा ठगी गरेको आरोपमा ३३ वर्षीय केवलप्रताप जंगबहादुर राणा पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–१३ कुसुन्तीका राणाले नक्कली छोरा बनेर पर्साकी कमलादेवी राजभण्डारीका नाममा रहेको जग्गा हडपेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीरगन्ज महानगरपालिका–५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरसमेतको जग्गा ठगी गरेको अनुसन्धानका क्रममा खुलेको जनाएको छ। राणाले मालपोतका कर्मचारीसँगको मिलेमतोमा जग्गा आफ्नो नाममा ल्याएर वीरगन्जकै गिरिधारी लाल अग्रवालबाट ५० लाख रुपैयाँ बैना लिएका थिए। ब्युरो प्रमुख डीआईजी सहकुलबहादुर थापाले राणाले अग्रवाललाई ठग्न आफूलाई मुकेशराज भण्डारी भनेर चिनाएको पाइएको बताए। राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राजभण्डारीकै नाममा ४७४३ नम्बरको नक्कली नागरिकता लिएको पाइएको डीआईजी थापाको भनाइ छ।

राणाले आफू जग्गाधनी कमलादेवीको छोरा भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नक्कली नागरिकता बनाएको अनुसन्धानका क्रममा खुलेको छ। त्यति मात्र होइन, आफू मुकेश राजभण्डारी भएर राजेश राजभण्डारी, रुपेश राजभण्डारी र कमला राजभण्डारीका नामको नक्कली नागरिकतासमेत उनीसँग फेला परेको छ। राजेशले ब्युरोमा जग्गा किर्ते भएको जाहेरी दिएका थिए। राणाले कमला राजभण्डारी र कमलादेवी राजभण्डारी एकै भएको किर्ते कागजसमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

राणाले मुकेश राजभण्डारीका नाममा जग्गा नामसारी गर्न अस्ट्रेलियास्थित नेपाली राजदूतावासबाट राजेश र रुपेशले दिएको मञ्जुरीनामासमेत किर्ते गरेको पाइएको छ। डीआईजी थापाले मुकेशका नाममा जग्गा आएपछि राणाले कम्पनी रजिस्ट्रार कार्यालयमा गंगा ट्रेडर्स नामक कम्पनीसमेत दर्ता गरेको पाइएको बताए। उनका अनुसार त्यही कम्पनीका नाममा राणाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा निकाल्दै आएको पाइएको छ।

‘ठग्नका लागि राणाले धेरै कागजात किर्ते गरेको पाइयो’, डीआईजी थापाले भने, ‘ललितपुर महानगरपालिका वडा नम्बर ३ बाट जग्गाधनी कमलादेवी राजभण्डारी र उनका पति गोपाल राजभण्डारीको मृत्युदर्ताको प्रमाणपत्रसमेत किर्ते गरेका रहेछन्।’ अग्रवाल घरजग्गा हेर्न पुग्दा स्थानीयले जग्गाधनी अरू नै रहेको बताएपछि मात्रै ठगीको रहस्य खुलेको थियो।

ब्युरोका अनुसार राणा यसअघि पनि विभिन्न अपराधमा मुछिएका अभियुक्त हुन्। उनी क्रेडिक कार्ड ठगी घटनामा २०७० कात्तिक ३ गते पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय ललितपुरले ठगी मुद्दा चलाएको थियो। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *