ल्हासाबाट प्रधानमन्त्री दाहाल आज छेन्दु जानुहुँदै

न्भेष्टाेपेपर । असाेज १२, २०८०

चीन ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो ।

उहाँ स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नुहुने छ । छेन्दुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुुहुने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नु हुनेछ ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।

उहाँको भ्रमण दलमा, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहनुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *