हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान

न्भेष्टाेपेपर । जेठ १६, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

एकहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको  ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई सघाउन आग्रह गर्नुभएको हो । 

विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताउनुभयो । 

“हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको यो नीतिगत प्राथमिकता र पहलमा सरोकारवालालगायत सम्पूर्ण नेपालीको बलियो साथ रहने मेरो विश्वास छ ।” उहाँले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिका कारण उत्पन्न चुनौती गम्भीर भएको उल्लेख गर्नुभयो । 

“मुख्यतः तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विष्फोटको जोखिम बढ्दै जाने, वायु प्रदुषण बढ्दै जानेजस्ता कारणले हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन, सभ्यता, विकास, जीवनशैली, स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्यायका लागि नेतृत्वदायी पैरवी गर्दै आएकोे छ ।”

सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।   (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *