प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइ मत प्राप्त

इन्भेष्टाेपेपर । साउन ६, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनुभएको छ।  आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनुभएको हो। 

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो। 

उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ सांसद सङ्ख्यामध्ये उहाँको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । एक जना सदस्य भने तटस्थ बस्नुभएको छ ।

सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने सङ्ख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको हो। प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले),  जसपा,  जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले  विश्वासको मत दिएका हुन्।  

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *