प्रधानमन्त्री ओली आज थाइल्याण्ड भ्रमणमा जाँदै

न्भेष्टाेपेपर ।  चैत १९, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली यही चैत १९ गते दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ ।

यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

‘दुई देशबीच ६५ वर्षको कूटनीतिक इतिहासमा यो एउटा औपचारिक भ्रमणको आदानप्रदानको नयाँ सुरुआत हो । हाम्रो तर्फबाट यो विल्कुलै नयाँ सुरुआत हो’, प्रधानमन्त्री ओलीले सोमबारको संसद्‌मा सम्बोधनका क्रममा भन्नुभएकाे थियाे ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनुहुनेछ । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उहाँकाे सहभागी रहनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनेछन् ।

भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी अग्रिम रूपमा बैंकक जानुभएकाे छ भने थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्त्व नपर्ने गरी भ्रमण दलमा सामेल हुनेछन् । भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधि पनि सामेल हुनेछन् ।

प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वतयारी र परामर्शका क्रममा आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल गर्नुभएकाे थियाे । छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *