प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

न्भेष्टाेपेपर । जेठ १८, २०८०

काठमाण्डाैँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । उहाँहरुबीच आज बिहान ११ बजे हैदरावाद हाउसमा भेटवार्ताको तालिका छ । कार्यसूची अनुसार दुई समकक्षीबिच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरीय संयुक्त बैठक हुनेछ । बैठकमा प्रचण्ड र मोदीको सहभागिता रहने छ । यो बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । 

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग दिउँसो ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समयतालिका छ । 

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो भारतको नयाँ दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई बुधवार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभयो । उक्त क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको हो । 

भ्रमणको पहिलो दिन हिजो भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटलमा पुगेर भेट गर्नुभएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले विगतका केही वर्षमा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावलाई सहजीकरण गर्ने उहाँको सचिवालयले जनाएको छ ।

यस्तै भ्रमणको क्रममा ऊर्जा व्यापार, पारवहन सन्धिको संशोधनसहितका विषयमा निर्णय हुन सक्ने नेपाली अधिकारीहरूले बताएका छन् ।

नेपालले थप हवाई रूटको माग गर्ने र महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजना विकास गर्न झन्डै तीन दशकअघि गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने विषय उठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *