तीन दिन देशभर झरी, केही क्षेत्रमा अति भारी वर्षाको चेतावनी

इन्भेष्टाेपेपर । आश्विन ८, २०८३

काठमाण्डौ । गएरातिदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरु भएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो ।

भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गएरातिदेखि नै मुसलधारे पानी पर्न थालेको छ ।  गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो ।

पछिल्लो २४ घण्टामा पाल्पामा १६० मिलिमिटर र कपिलवस्तुमा १२५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परेमा भने त्यसलाई अति भारी वर्षा भनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ । मौसम एकछिन खुलेजस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *