विवेकशील साझा पार्टीका के.स. रमेश महर्जनको निधन
इन्भेष्टोपेपर । कार्तिक २, २०७८
काठमाण्डाैँ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधन भएकाे छ । एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो।
उहाँकाे निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको विवेकशिल साझा पार्टीले विज्ञप्ति मार्फत जनाएकाे छ । साथै केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।
२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो। गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गर्नुभएको थियो।
२०७२ सालको महा-भूकम्पपछि उहाँले पाटनमा नेवा: वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गर्नुभएको थियो, जसको चौतर्फी प्रशंसा भएको थियो।
नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो।
