पुनर्बिमाकाे लागि बाहिरिने १० अर्ब रोकियो
मुलुकमै पुनर्बिमा कम्पनी खुलेपछि ९ अर्ब ८९ करोड रुपैयाँ बाहिरिनबाट रोकिएको छ । बिमा कम्पनीले जोखिम सुरक्षणका लागि गएको चार वर्षमा विदेशी पुनर्बिमा कम्पनीलाई भुक्तानी गर्नुपर्ने बिमा शुल्क (प्रिमियम) स्वदेशमै रोकिएको हो ।
नेपालमै पुनर्बिमा सुविधा पाएपछि हाल कम्पनीलाई विदेशी कम्पनीको भर पर्नुपर्ने अवस्था छैन । यसअघि नेपालमा पुनर्बिमा कम्पनी नहुँदा पुनर्बिमा कम्पनीलाई ठूलो रकम भुक्तानी गर्दै आएका थिए । गएको चार वर्षमा नेपाल पुनर्बिमा कम्पनीले जम्मा १० अर्ब २६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।
जसमध्ये करिब ९ अर्ब ८९ करोड स्वदेशी र करिब साढे ३७ करोड रुपैयाँ विदेशी बिमा कम्पनीबाट प्राप्त भएको पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । ‘चार वर्षको अवधिमा करिब साढे ३७ करोड रुपैयाँ विदेशी मुद्रा मुलुक भित्रिएको छ,’ उनले भने । चालु आर्थिक वर्षमा करिब अर्ब रुपैयाँ प्रमियम संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।
उल्लिखित पौने १० अर्ब रुपैयाँमध्ये सबै रकम नेपालमै रोकिएको होइन । उक्त बिमा शुल्कमध्ये ३ अर्ब ६० करोड रुपैयाँ पुनर्बिमा ‘रेट्रोसेसन’ मार्फत बाहिरिएको छ । यसरी हेर्दा गएको चार वर्षमा ७ अर्ब २९ करोड रुपैयाँ बाहिरिनबाट जोगिएको देखिन्छ । यसको अर्थ नेपालमा पुनर्बिमा कम्पनी नभएको अवस्थामा कम्पनीले विदेशी पुनर्बिमासँग बिमा गर्नुपर्थ्यो र त्यस अवस्थामा उक्त रकम बाहिरिनबाट जोगिएका रूपमा विश्लेषण गरिएको हो ।
बिमा कम्पनीको जोखिम पुनर्बिमा कम्पनीले सुरक्षण गरेजस्तै पुनर्बिमा कम्पनीको जोखिम पनि अर्को त्यस्तै कम्पनीमा स्थानान्तरण गरिन्छ । यसरी एउटा पुनर्बिमा कम्पनीको जोखिम अर्को त्यस्तै कम्पनीले बहन गर्ने कामलाई ‘रेट्रोसेसन’ भनिन्छ । विगत चार वर्षमा पुनर्बिमा कम्पनीले २ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । स्वदेशी र विदेशी बिमा कम्पनीलाई उक्त रकम भुक्तानी गरिएको हो ।
नेपालमै पुनर्बिमा हुने भएपछि कम्पनीलाई पुनर्बिमा शुल्क पनि सस्तो परेको छ । विदेशी पुनर्बिमाको तुलनामा स्वदेशी पुनर्बिमाले धेरै कमिसन दिने भएकाले शुल्क सस्तो हुने प्रमुख कार्यकारी अधिकृत भण्डारीले दाबी गरे । ‘हामीले स्वदेशी कम्पनीलाई बिमा शुल्कमा ४५ प्रतिशतसम्म कमिसन दिएका छौं,’ उनले भने, ‘यो विदेशी पुनर्बिमा कम्पनीले दिएको भन्दा बढी हो ।’
नेपालमै पुनर्बिमा गर्न पाइने भएपछि बिमा शुल्क केही सस्तो पर्ने बिमा कम्पनीहरूले पनि स्वीकार गर्छन् । नेपाली कम्पनीसँग पुनर्बिमा गर्न थालेपछि तुलनात्मक रूपमा बिमा शुल्क सस्तो भएको छ,’ बिमक संघका उपाध्यक्ष नुरप्रताप प्रधानले भने, ‘सजिलो र सस्तो दुवै भएको होला । एउटै कम्पनीले धेरै पुनर्बिमा गर्दा जोखिम बढी हुने भएकालेनेपाल पुनर्बिमाले पनि रेट्रोसेसन गर्नुपर्छ ।’
त्यसो त अझै पनि हरेक वर्ष करिब ९ अर्ब रुपैयाँभन्दा रकम पुनर्बिमाबापत बाहिरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्र मुलुकबाट पुनर्बिमामार्फत ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको थियो । यो जोखिम सुरक्षणका लागि नेपाली बिमा कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरेको पुनर्बिमाबापतको भुक्तानी हो ।
आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत वर्षको पुनर्बिमाबापतको भुक्तानी (शुल्क) कम हो । अघिल्लो आर्थिक वर्ष बिमा कम्पनीले पुनर्बिमाबापत भुक्तानी गर्दा कुल ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको थियो । उक्त अवधिमा बिमा कम्पनीको पुँजीगत आधार बढ्नुका साथै नेपाल पुनर्बिमा कम्पनीसँगको व्यवसाय बढेकाले बाहिरिने रकम घटेको विज्ञहरूले जनाएका छन् । मुलुकबाट बाहिरिएको रकममध्ये निर्जीवन बिमा कम्पनीले ७ अर्ब ८८ करोड र जीवन बिमा कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेका सरकारी तथ्यांक छ ।
आर्थिक वर्ष ०७१/७२ यता पुनर्बिमा कम्पनीले कुल २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उल्लिखित रकम कम्पनीले व्यवसाय गरेर कमाएको (अन्डरराइटिङ प्रोफिट) र कम्पनीमा पुँजी लगानी गरेर कमाएको आय हो । जसमध्ये कुल करिब ६० प्रतिशत पुँजी लगानीबाट र ४० प्रतिशत व्यवसाय विस्तारबाट प्राप्त भएको कम्पनीले जनाएको छ । हाल कम्पनीको पुँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । उक्त रकम विभिन्न वाणिज्य बैंकमा मुद्दती निक्षेपमा बचतका रूपमा रहेको छ ।
हाल बिमा कम्पनीले आफ्नो पुँजी र सञ्चिति (नेटवर्थ) को ०.५ देखि ५ प्रतिशतसम्मको जोखिम आफै बहन (रिटेन्सन) गर्न सक्छन् । यसरी पाँच प्रतिशतसम्म जोखिम बहन गर्न कम्पनीले अन्य विविध प्रकारका मापदण्ड पनि पूरा गर्नुपर्छ । सरल भाषामा बुझदा कम्पनीले संकलन गरेको कुल बिमांकमध्ये ५ प्रतिशतसम्म जोखिम आफैं बहन गर्न पाउँछन् । बाँकी ९५ प्रतिशत स्वदेशी तथा विदेशी पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्नुपर्छ ।
कम्पनीको ‘रिटेन्सन’ क्षमतामा वृद्धि भएकै कारण गत वर्ष विदेशी पुनर्बिमा कम्पनीसँगको कारोबारमा कमी आएको विज्ञहरू बताउँछन् । आउँदा वर्षमा पुनर्विमाबापत बाहिरिने रकम झनै घट्दै जाने विज्ञहरूको अनुमान छ ।
हाल कम्पनीले आफ्नो कुल बिमांकको न्यूनतम २० प्रतिशत नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्नुपर्ने सरकारको निर्देशन छ । यो व्यवस्थाले आउँदा वर्षमा बाहिरिने रकम स्वदेशमै रोकिने उनीहरूको तर्क छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘डाइरेक्ट सेसन’ मार्फत २० प्रतिशत नेपाल पुनर्बिमामा पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरेको हो ।
- कान्तिपुर दैनिककाे समाचार ।
