विकास र लगानीका लागि प्रतिष्पर्धा गर्न स्थानीय जनप्रतिनिधिलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

इन्भेष्टाेपेपर ।  जेठ २६, २०७९

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।

तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वान समेत गर्दछु, उहाँले भन्नुभयो ।

छोटो समयमा मलेशियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय निकायहरुले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले बिना लगानी धेरै भन्दा धेरै फाइदा लिन सक्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले बुटवल मुलुककै आर्थिक केन्द्र बन्दै गएको बताउनुभयो ।

सिङ्गो रुपन्देही जिल्ला पर्यटन र कृषि क्षेत्रका लागि अथाह सम्भाव्यता बोकेको जिल्ला हो भन्दै उहाँले विश्वकै केन्द्र बन्दै गरेको बुद्ध भूमी लुम्बिनी, भैरहवामा हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र लगायतका कुराहरुलाई समुचित रुपमा उपयोग गर्न सकेमा यसबाट रुपन्देही जिल्लाले मात्र नभई सिङ्गो मुलुकले नै मुहार फेर्न सक्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्र मुलुकभित्र लगानी वृद्धि, रोजगारी सृजना, औद्योगिक व्यवसायिक विकासमार्फत आम नेपालीको आमुल परिवर्तनमा निरन्तर क्रियाशिल रहदै आएको बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *