सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण

इन्भेष्टाेपेपर ।  कार्तिक ९, २०७९

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा चार पटकसम्म प्रसारण गर्न सक्नेछन् ।

दलहरूले एक पटकमा बढीमा एक मिनेटसम्म मात्रै प्रसारण गराउन पाउने भएका छन् । आयोगका अनुसार दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा सात/सात इञ्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्नेछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा तीन पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्नेछन् ।

यसैगरी, प्रतिनिधिसभा सदस्य पदकोे उम्मेदवारले चौबिस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सकिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आचारसंहितामा विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था आयोगले गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *