शेयर बजार ३० गते मङ्गलबारदेखि खुल्नेः धिताेपत्र बाेर्डकाे १४ बुँदे निर्देशन

इन्भेष्टोपेपर । वैशाख २७, २०७७ 

आगामी ३० गते मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरज गिरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयाे ।

काेराेना महामारीकाे कारण देशमा गरिएकाे लकडाउन संगै चैत १० गतेदेखि धितोपत्र बजार पनि बन्द गरिएको थियो । विषम परिस्थितिलाइ मध्यनजर गरि दैनिक २ घंण्टा (११ः०० देखि १ः०० बजेसम्म) सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ ।

बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मङ्गलबारदेखि दैनिक दुई घण्टाको कारोबार गर्दा सुरुको कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

त्यस्तै धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा पनि आईपीएस या विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने बोर्डले जनाएको छ ।

नेपाल धिताेपत्र बाेर्डले जारी गरेकाे १४ बुँदे निर्देशनः

नेपाल सरकारको मिति २०७७/१/२४ को निर्णयानुसार बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् आवश्यक सेवा प्रवाह गर्ने निर्णय भए अनुसार मिति २०७७/१/२६ गते बोर्डको कार्यालयमा बजारसम्बद्ध पक्षहरू NEPSE, CDSC, Merchant Banker, DP, Broker सँग भएको छलफल समेतको आधारमा देहाय बमोजिमको व्यवस्था गरी मिति २०७७/१/३० बाट धितोपत्रको दोस्रो बजार कारोबार सञ्चालन गर्न गराउन सम्बद्ध पक्षहरू सबैलाई जानकारी गराइएको छ।

१) धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गर्ने ।

२) प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने ।

३) धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने ।

४) लगानीकर्तालाई Mero Share खाता खोली सोही खाताबाट अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने । २०७७ आषाढ मसान्तसम्म Mero Share को नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने।सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउने ।

५) धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने ।

६) नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।

७) २०७७ आषाढसम्म Online बाट कारोबार गर्ने लगानीकर्ताहरुसँग Password र User ID प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले Password र User ID लिन सक्ने व्यवस्था गर्ने ।

८) सिडिएसको System बाट आउने Average Price लाई धितोपत्र दलालले Manual Entry गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने ।

९) लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने र सो को जानकारी दिने ।

१०) NEPSE र CDSC ले आवश्यक Safety Protocol बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने ।

११) NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने ।

१२) NEPSE, CDSC, Merchant Bankers, DP, Broker कार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउने । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने ।

१३) धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने ।

१४) NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय मिति २०७७।१।२८ गते आईतबार देखि संचालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७७।१।३० गते मंगलबारबाट संचालन गर्ने ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *