शिवानीको दुखेसो : ‘देशका लागि खेले नागरिक बन्न सकिन’

इन्भेष्टोपेपर । भाद्र ६, २०७

महेन्द्रनगर । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोख्नुहुन्छ ।

शिवानीका बाबु भारतीय नागरिक हुनुहुन्छ भने आमा नेपाली । विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका बुवा राजु दुबे नेपालमै बस्दै आउनुभएको छ । डडेल्धुराको तुफानडाँडाबाट विवाह गर्नुभएका राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । केही समयपछि नर्वेमा हुने कुस्ती च्याम्पियनसीपका लागि खेलाडी छनोटको तयारी हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी शिवानी निराश हँुदै फर्किनुभएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनी बस्दै आएका दुबे परिवार महेन्द्रनगरमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । 

“खेलाडी राष्ट्रका गहना हुन, देशको शिर उचो बनाउने काम खेलाडीबाट पनि हुन्छ”, शिवानीका बाबु राजुले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरमा समेत छोरीले देशका लागि पदक दिलाउँदा पनि नागरिकताका लागि यस्तो दुखः भयो ।” आमा राधिकाको नागरिकताका आधारमा आफूले पनि नागरिकता पाउनुपर्ने शिवानीको भनाइ छ । कुस्तीकी कम उमेर समूहकी खेलाडी शिवानी पन्ध्र वर्षको उमेरदेखि राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आउनुभएएको छ । १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी शिवानी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसित पराजित हुनुभएको थियो । 
    
“अहिलेसम्म कुनै पनि प्रतियोगिताबाट पदकविहीन फर्किनुपरेको छैन”, शिवानीले भन्नुभयो, “ओलम्पिकसम्म पुग्ने मेरो सपना हो ।” उहाँले आफूले आमाको नामबाट पनि नागरिकता पाउने प्रबन्ध रहेको सुनेको बताउनुभयो । बाबु राजुले शिवानीको नागरिकता लागि राष्ट्रिय खेलकूद परिषद्बाट पनि पहल भइरहेको जानकारी दिनुभयो ।“डडेल्धुरा जिल्ला प्रशासनले आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन भइनसकेको भनेर फर्काइदियो”, उहाँले भन्नुभयो, “अहिले कुस्ती सङ्घ र राखेपले पनि पहल गरिरहेकाले आशा पलाएको छ ।” राजुका दुई छोरी र एक छोरा छन् । शिवानी जेठी छोरी हुनुहुन्छ ।

यसअघि पनि क्रिकेटका राष्ट्रिय खेलाडीले नागरिकता पाएको सुनेकाले शिवानीले पनि पाउनुपर्ने उहाँको भनाइ छ । आफू विगत २२ वर्षदेखि नेपालमै बस्दै आएको जनाउँदै राजुले आफूसँग भारतीय कुनै पनि कागजात नरहेको बताउनुभयो ।     
कुस्तीका प्रशिक्षक राजेन्द्रबहादुर चन्दले महिला कुस्तीमा राष्ट्रियस्तरमै कञ्चनपुर अब्बल रहेको बताउनुभयो । “महिला खेलाडी भनेकै अहिले कुस्तीमा हाम्रै खेलाडी हाबी छन्”, उहाँले भन्नुभयो “शिवानी लगनशील र अब्बल खेलाडी हुन् ।” प्रशिक्षक चन्दले कानूनी प्रक्रिया अनुसार शिवानीले नागरिकता पाउनुपर्ने बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *