लघुकथा : ‘बिहे भोज’
-- हृदय लेकाली
आफ्नै अफिसको सुब्बा साबको छोराको बिहे भोज आज। मङ्गलमान सर कार्ड छापिएन हजुर बिहेभोजमा आउनुपर्छ है निम्ता हजुरलाई । चारदिन अघि सौगात सरले फोनबाटै भनेका थिए । मैले हस् भनेर निम्तो स्वीकारेँ।
आफू सफारी सुट र जुत्ता लगाएर तयार भएँ , उता ऊनी पनि परिधानमा व्यस्त थिइन्।
म ढोका बाहिर उनलाई कुरेँ , एक घण्टा, दुई घण्टा, तीन घण्टा भो उनी कोठामै।आखिर म दिक्क भएर कोठामा पुगेर हेर्दा कुन साडी लगाउँ भन्दै दुविधामा परेको पाएँ।
हैन सानू के गरेकी ? उनले भनिन् हेर्नुस् न ,मलाई यो साडी पनि सुहाएन, त्यो साडी पनि सुहाएन।कोठामा साडीको थुप्रोले पहाडै उठ्ला जस्तो भएको थियो। मित्र सौगात सरको छोराको बिहेभोज जान पाइएन ।
भोलिपल्ट अफिसमा उनले भने मङ्गलमान सर हजुर किन आउनु भएन भोजमा। हजुर अधिकृत जस्तो मान्छे भएर हो कि ?
