सोह्रौँ पुस्तकालय दिवस : लथालिङ्ग छन् सरकारी पुस्तकालय

न्भेष्टाेपेपर । भाद्र १५ २०८०

काठमाडौँ ।  भूकम्प गएको आठ वर्ष बित्दा पनि मुलुकका सरकारी पुस्तकालय भवन अपूरा छन्। प्रायः सबै सरकारी भवनको पुनर्निर्माण भइसके पनि कुनै पुस्तकालय भवनको निर्माण कार्य जारी छ भने कुनैको निर्माण कार्य अत्तोपत्तो नै छैन।

सम्बन्धित निकायले ‘साइट क्लियर’ नगरिदिएकाले काठमाडौँको केशर पुस्तकालयको निर्माण गति सुस्त छ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा सारिएको छ। सानोठिमीमा अस्थायी टहरामा पुस्तकालय सञ्चालन भइरहेको छ। जमलको केन्द्रीय कानुन पुस्तकालयको भवन निकै पुरानो भइसकेको छ। लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नयाँ भवन निर्माण गर्ने योजना भए पनि जग्गासम्बन्धी विवादले जीर्ण भवनमा कुँजिनु परेको छ।

विसं २०७६ मङ्सिर २८ गते दुई वर्षभित्र निर्माण सक्ने गरी केशर पुस्तकालयको पुनर्निर्माण अगाडि बढाइएको थियो। कोभिड–१९ का कारण निर्माण सम्पन्न अवधि एक वर्ष थपिएको थियो। हाल केशर पुस्तकालय रहेको टहरो, पुराना सामग्री राखिएका टहरो, पुराना दस्तावेज आदि साइट स्थलबाट नहटाइँदा निर्माण कार्यलाई अवरोध सिर्जना गरिरहेको छ। ठेकेदार कम्पनीले निर्माण अवधिको म्याद आगामी मङ्सिरसम्म लम्ब्याउन प्रक्रिया अगाडि बढाएको छ।

पुनर्निर्माणको परामर्शदाता कम्पनी जेएसए–पिडिए–एसडब्लुएन जेभीका आवासीय इन्जिनियर आकाशकुमार शाहले मुख्य भवन दसैँअगाडि सम्पन्न गरिसक्ने बताउनुभयो। “मूल भवनको भौतिक प्रगति ९० प्रतिशत पूरा भइसकेको छ,” उहाँले भन्नुभयो, “फल्ससिलिङलगायतका ससाना काम बाँकी छन् तर ल्यान्डस्केपका काम बाँकी छन्। मुख्य गरी साइट क्लियरेन्सले समस्या पारेको छ। त्यो नहुँदा मङ्सिरसम्ममा पनि निर्माण कार्य पूरा नहुने अवस्था रहन्छ।”

केशर पुस्तकालय भवनका हरेक कोठाका रङ्गीन फल्ससिलिङ फरक फरक आकृतिका छन्। जिङ्क र फलामे पाताबाट बनेका ती खियाले काम नलाग्ने अवस्थामा पुगेका छन्। नेपाली प्राविधिकलाई बनाउन लगाउँदा नसकेका कारण निर्माण गरिदिने कम्पनी खोज्न टोली भारत पुगेको छ। “दिल्ली पुगेको टोलीले फल्ससिलिङ बनाइदिन सक्नेलाई फेला पारेको छ। अब त्यो समस्या पनि हट्ला,” उहाँले भन्नुभयो।

जमलमा अत्याधुनिक भवन निर्माण गरी राष्ट्रिय पुस्तकालयलाई सार्ने योजना अनुरूप भवन निर्माणका लागि टेन्डरसमेत आह्वान गरिएको थियो तर ठेकेदारसँगको मिलेमतो भएका कारण देखाई सो टेन्डर रद्द गरिएको थियो। पुस्तकालयका प्रमुख दशरथ मिश्रले सहरी विकास तथा भवन निर्माण विभागमार्फत कार्यान्वयन गर्ने गरी पुनः भवन निर्माण गर्न १० करोड रुपियाँ विनियोजन भएको जानकारी दिनुभयो। “सानोठिमीमा सारिए पनि पाठक सङ्ख्या घटेका छैनन्। बस्ने ठाउँको समेत अभाव छ,” उहाँले भन्नुभयो। 

भृकुटीमण्डपमा सार्वजनिक पुस्तकालय छ। त्यसको करिब एक किलोमिटरको दुरीमा केन्द्रीय कानुन पुस्तकालय छ। कानुन पुस्तकालयको सडकपारि राष्ट्रिय पुस्तकालय निर्माण गर्न प्रस्ताव गरिएको छ। राष्ट्रिय पुस्तकालयको प्रस्तावित जग्गाबाट केही पाइलाअगाडि केशर पुस्तकालय छ। केशर पुस्तकालयबाट करिब एक किलोमिटरको दुरीमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय छ। यी पुस्तकालय नजिक भएकाले राष्ट्रिय पुस्तकालयलाई ललितपुरको पुल्चोकस्थित साबिकको स्थानमा नै राख्नुपर्ने भनाइ पनि सरोकारवालाबाट आउने गरेको छ।

यसैबिच शुक्रबार १६ औँ पुस्तकालय दिवस मनाइँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव यादवचन्द्र निरौलाले राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका महत्वपूर्ण दस्तावेजलाई डिजिटाइज गर्ने योजना रहेको बताउनुभयो। 

उहाँले राष्ट्रिय विद्युतीय पुस्तकालयको अवधारणालाई पनि अगाडि बढाइएको बताउँदै सार्वजनिक पुस्तकालय स्थापना गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको जानकारी दिनुभयो। देशभरिमा करिब ९२५ वटा पुस्तकालय रहेको अनुमान छ। याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *