सामाजिक सुरक्षा काेष : आश्रित परिवारले पाउन थाले मासिक पेन्सन
इन्भेष्टोपेपर । मंसिर ११, २०७८
काठमाडौं । नयाँ युगको शुरुवातका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गरेको छ ।
विसं २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यान्वयनमा आएको छोटो समयमै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सामाजिक संरक्षण प्राप्त गर्न थालेका छन् । कोषले योगनकर्ताका लागि विभिन्न चार ओटा योजना सञ्चालनमा ल्याएको छ ।
हालसम्म १५ हजार ८२४ ओटा रोजगारदाता एवं २ लाख ९५ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा अहिलेसम्म १० अर्ब २९ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।
कोषमा आबद्ध योगदानकर्तामध्ये हालसम्म ६ हजार ४५० योगदानकर्तालाई ७ करोड १६ लाख ८५ हजार रुपैयाँ औषधि उपचार, १९१ जना योगदानकर्ताको दुर्घटनाबापतको ६० लाख ५८ हजार रुपैयाँ उपचार खर्च भुक्तानी गरिएको छ । कोषमा आबद्ध भई असामयिक निधन भएका १२३ योगदानकर्ताको आश्रित पतिपत्नी वा बुबाआमालाई १ करोड १३ लाख रुपैयाँ भुक्तानी भएको छ ।
कोषले मृतक योगदानकर्ताका आश्रित परिवारलाई मासिक २० लाख ६५ हजार रुपैयाँ पेन्सन भुक्तानी गर्दै आएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयाे । योगदान रकम संकलन शुरुआती दिनदेखि नै प्रविधिको प्रयोग गरी योगदान संकलनदेखि अवकाश तथा पेन्सन भुक्तानीलाई अनलाइन बनाइएको कोषले बताएको छ ।
सामाजिक सुरक्षा दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका युवा, स्वरोजगार, असंगठित क्षेत्रमा कार्यरत, करार, ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनु भयाे।
संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको भन्दै उहाँले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाइने बताउनु भयाे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रुपमा सामाजिक सुरक्षा योजना शुरु भएको उल्लेख गर्दै सामाजिक सुरक्षा कार्यविधिलाई समयसापेक्ष सुधार गर्नुपर्ने बताउनु भयाे।
सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने सबैको साझा लक्ष्य भएको जानकारी दिंदै उहाँले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयनमा केही व्यावहारिक कठिनाइहरु देखिए पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनु भयाे।
कोषका कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा योजना कार्यविधिको दोस्रो संशोधन गरी योगदानकर्तामैत्री बनाउँदै लगिएको बताउनु भयाे । उहाँले आगामी दिनमा समेत सामाजिक सुरक्षा प्रणालीको मूल मर्म ख्याल गर्दै समयसापेक्ष कार्यविधिमा परिमार्जन गर्दै थप योगदानकर्तामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयाे । (रासस)
