अध्ययन भन्छ, दैनिक दूध पिउँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ

न्भेष्टाेपेपर । पुस २९, २०८१

संयुक्त अधिराज्यमा गरिएको एउटा अध्ययनले खानामा धेरै क्याल्सिअम खाने मानिसहरूले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने थप प्रमाणहरू पत्ता लगाएको छ। अध्ययनका अनुसार दैनिक एक गिलास दूध त्यसका लागि सहयोगी हुनसक्छ।

अक्सफर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च यूकेको अध्ययनले डेरी वा गैरडेरी खानेकुराहरूमा पाइने क्याल्सिअमले क्यान्सर कम गर्नसक्ने देखाएको हो।

हरेक दिनको खानेकुरामा थप ३०० मिलिग्राम क्याल्सिअम वा ठूलो गिलासमा भरी दूध पिउँदा क्यान्सरको जोखिम १७ प्रतिशत कम हुने अनुसन्धानमा उल्लेख छ।

अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए। त्यसक्रममा उनीहरूले गाढा-हरियो सागपात, पाउरोटी र गाईको दूध बाहेकका नरिवल वा बदाम लगायतबाट बनाइने दूधको सेवनबाट पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने निष्कर्ष निकालेका छन्।

“क्याल्सिअमको कमीका कारण हुनसक्ने आन्द्राको क्यान्सर रोक्न दुग्ध पदार्थहरूको सम्भावित भूमिकाबारे यसले चर्चा गरेको छ,” अनुसन्धानको नेतृत्व गरेका अक्सफर्डका किरेन पापिअरले भने।

बिहानको खानामा अन्न, फलफूल, कार्बोहाइड्रेट, सिरिअल, फाइबर र भिटामिन सी खाँदा पनि क्यान्सरको जोखिम कम हुने र दुग्ध पदार्थभन्दा त्यसको प्रभाव अलि कम हुने अध्ययनले देखाएको छ।

उच्च प्रशोधित मासु र रातो मासु अनि मदिराले आन्द्राको क्यान्सरको जोखिम बढाउने यसअघि नै थाहा भइसकेको कुरा हो। तर पछिल्लो अध्ययनले यसबारे थप प्रमाणहरू पत्ता लगाएको छ।

एक दिनमा एक ठूलो गिलास (२० ग्राम) वाइन सेवन गर्दा क्यान्सरको जोखिम १५ प्रतिशतले बढ्ने अध्ययनमा उल्लेख छ। त्यस्तै दैनिक एक औँस रातो र प्रशोधित मासु खाँदा आन्द्राको क्यान्सर हुने जोखिम ८ प्रतिशतले बढ्छ।

जोखिमको प्रतिशत ठ्याक्कै मापन गर्न भने सहज छैन। किनभने हरेक व्यक्तिको आन्द्रामा क्यान्सर हुने जोखिम उसको जीवनशैली, आहार, आनीबानी र आनुवंशिकतामा भर पर्छ।

यद्यपी केही विज्ञहरूका अनुसार यो अध्ययन मानिसहरूको व्यवहारमा गरिएको अवलोकनमा आधारित भएको र परीक्षणमा आधारित नभएका कारण यसले तोकेर क्याल्सिअम वा अन्य कुनै खानेकुराले क्यान्सरबाट बचाउँछ वा यसको सम्भावना बढाउँछ भन्न नसकिने दलिल पेश गर्दछन्।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *