अध्ययन भन्छ, विश्वभरि मोटोपना भएका मानिस ‘एक अर्बभन्दा बढी’

न्भेष्टाेपेपर । माघ १०, २०८१

विश्वमा प्रत्येक आठ जनामध्ये एक जनामा मोटोपना भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

द लान्सिट जर्नलमा प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क अनि १५ करोड ९० लाख बालबालिकामा मोटोपनाको समस्या देखिएको छ।

सन् १९९० को तुलनामा बालबालिकामा मोटोपना हुने दर चार गुनाले अनि वयस्कहरूमा दुई गुनाले बढेको अनुसन्धानले देखाएको छ। मोटोपना बढेको उच्च गतिप्रति अनुसन्धानकर्ताहरूले आश्चर्य व्यक्त गरेका छन्।

वजन धेरै भएका मानिसहरूको अनुपात अमेरिकामा कुल जनसङ्ख्याको ४० प्रतिशत पुगिसकेको छ। क्यारिबिअन तथा प्यासिफिक क्षेत्रका टापु देशहरूमा जनसङ्ख्याको ६० प्रतिशत मानिसमा मोटोपनाको समस्या देखिएको बताइएको छ।

सबभन्दा धेरै मोटोपना भएका महिला टोङ्गा र अमेरिकन समोआमा अनि पुरुष चाहिँ अमेरिकन समोआ र नाउरुमा पाइएका छन्। ती देशमा ७०-८०% वयस्क मानिसहरूमा मोटोपना छ।

द लान्सिटमा प्रकाशित अध्ययनअनुसार पुरुषहरूमा मोटोपनाको अनुपात हेर्दा संयुक्त राज्य अमेरिका विश्वमा दशौँ स्थानमा रहेको छ भने महिलाहरूको हकमा ३६औँ स्थानमा छ। उक्त सूचीमा पुरुषहरूमा कम मोटोपना भएका देशहरूमध्ये भारत २१औँ अनि चीन ५२औँ स्थानमा छन्। महिलाको हकमा भारत १९औँ अनि चीन ११ औँ स्थानमा छन्।

वरिष्ठ अनुसन्धानकर्ता तथा इम्पेरिअल कलेज लन्डनका प्रा मजिद इजाटीले बीबीसीसँग भने: “यी कैयौँ टापु देशहरूमा स्वास्थ्यकर एवं अस्वास्थ्यकर खानाको उपलब्धता मुख्य विषय देखिएको छ।” “कतिपय ठाउँमा स्वास्थ्यरक खानाको लागत र उपलब्धतामा समस्या भए पनि अस्वास्थ्यकर खानाको आक्रामक विज्ञापन भएका पाइन्छ ।”

संसारभरिका वर्षौँको तथ्याङ्क अध्ययन गरिरहेका प्रा इजाटीले मोटोपना फैलिएको गतिले आफू छक्क परेको बताए। अहिले धेरै देशका निम्ति मोटोपना समस्या बन्दै गएको छ भने कम वजनका समस्या झेल्ने देशहरूको सङ्ख्या चाहिँ घट्दो छ।

कम वजन वा कुपोषण भएका वयस्कहरूको सङ्ख्या करिब ५० प्रतिशतले घटेको अनुसन्धानमा उल्लेख छ। तर पनि केही गरिब समुदायमा कम वजनको समस्या गम्भीर रहेको उसले औँल्याएको छ।

डब्ल्यूएचओसँगको समन्वयमा १,५०० अनुसन्धानकर्ताहरूले विश्वभरिका पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको वजन र उचाइ अध्ययन गरेर उक्त प्रतिवेदन बनाइएको हो। उनीहरूले वजन र उचाइको अनुपात नाप्ने ‘बडी मास इन्डेक्स’ (बीएमआई) को प्रयोग गरेका थिए।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *