सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा बैजनाथ धामबाट सुरु

इन्भेष्टाेपेपर । मंसिर १३, २०८३

अछाम । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ ।

सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो ।

बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा क्रिकेट खेलप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

ट्रफी यात्रा शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भरतकुमार स्वारले अछाम जिल्ला क्रिकेटको उर्वर भूमि भएको बताउनुभयो । देशमा हुने विभिन्न क्रिकेट लिगमा अछामका खेलाडीले सहभागिता जनाइरहेकाले ट्रफी यात्राले थप खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

ट्रफी यात्रा शुभारम्भले वर्षौंदेखि बैजनाथ धामको प्रचारप्रसारमा थप टेवा पुग्ने साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनुभयो ।

मैदानभित्र र बाहिर सुदूरपश्चिम रोयल्सका समर्थकले निकै माया देखाउनुभएकाले त्यसैअनुरूप टिमले उपाधि जित्न सफल भएको भन्दै धन्यवाद दिन ट्रफी यात्रा सुरु गरिएको रोयल्सका निर्देशक जगत टमट्टाले बताउनुभयो । उहाँले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलकुदको विकासमा समेत सकारात्मक सन्देश दिन प्रसिद्ध धार्मिक क्षेत्र बैजनाथबाट ट्रफी यात्रा सुरु गरिएको बताउनुभयो ।

अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ । यस्तै, मङ्सिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्‍याइनेछ ।

मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर हुनेछ । कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली निकालिनेछ ।

ट्रफी टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा र्‍यालीसहित सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले यसअघि सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

यसअघिका दुई संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको रोयल्सले तेस्रो संस्करणको उपाधि जितेको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *