असोज ३ देखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा

न्भेष्टाेपेपर । भाद्र २६, २०८०

काठमाडौँ ।  सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशकसहित मन्त्रालयमा बसेको बैठकले ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्री ज्वालाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा यात्रीले आफूले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यसहित असोज ३ गतेदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि यस प्रकारको बस सेवाको अवधारणा ल्याउन लागिएको बताउँदै मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवापछि ‘द्रुत बस सेवा’ का विषयमा केही आशङ्का उब्जिएका थिए। उहाँले अब आशङ्का पाल्नु पर्दैन, असोज ३ गतेबाट ‘द्रुत बस सेवा’ सञ्चालनमा आउँछ भन्नुभयो।

यसअघि मन्त्री ज्वालाले ‘दु्रत बस सेवा’ को सडक लेन बनाउन सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र ‘रोड परमिट’ को व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइसक्नुभएको छ। 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो काम भदौ २६ गतेदेखि सुरु गर्छौं ।” 

उहाँका अनुसार यातायात व्यवस्था विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क गर्ने भएको छ। रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ‘द्रुत बस सेवा’ सञ्चालनका लागि विभागले आफ्नो काम पूरा गरिसकेको बताउँदै त्यसका लागि २५ वटा बस तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार बस व्यवसायीहरूसँग सहकार्य गरी उनीहरूकै बसहरू सञ्चालन गर्न लागिएको हो। करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन्।

मन्त्रालयका अनुसार सुरुमा ‘द्रुत बस सेवा’ अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने छ। यो बस सेवा सञ्चालनका लागि छुट्टै लेन र बसको रङ नै फरक हुने छ। 

अत्यधिक जामका बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा एक घण्टा ३० मिनेट लाग्ने गरेको छ। ‘द्रुत बस सेवा’ सञ्चालन भएपछि अत्यधिक जामका बेला पनि ४५ मिनेटमा पुग्न सकिने छ। दु्रत बस सेवा सञ्चालनका लागि मोबाइल एपको समेत विकास गरिने छ। सो एपबाट द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी पाउन सकिन्छ। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *