हिन्दु महिलाहरुको महानपर्व तीज शिवको पूजाआराधना गरी मनाईदै

न्भेष्टाेपेपर । असाेज १, २०८०

काठमाण्डाैँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन्। 

पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ। अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँनुहुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको गौतमको भनाइ छ। 

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भन्नुभयाे । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ। स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाँले जानकारी दिनुभयाे। श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताउनुभयाे। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *