रुसकै सम्पत्तिको नाफाबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी-७को निर्णय

न्भेष्टाेपेपर । कात्तिक १२, २०८१

वासिङ्टन । युक्रेनलाई सहयोग गर्न जी-७ का नेताहरूले ५० अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने निर्णय गरेका छन् । यो ऋण युक्रेनमाथि आक्रमणपछि रोक्का गरिएका रुसी लगानी/सम्पत्तिबाट प्राप्त मुनाफाबाट उपलब्ध गराइने छ ।

जी-७ का सदस्य (लोकतान्त्रिक) देशहरूले ऋणको व्यवस्थापनबारे सहमति जनाउँदै यस वर्षको अन्त्यसम्म उक्त रकम वितरण गर्ने योजना बनाएका छन्। ‘ऋणको रकम युक्रेनको बजेट, सैन्य सहायता र पुनर्निर्माणका लागि विभिन्न माध्यमबाट वितरण गरिनेछ,’ जी-७ का नेताहरूले बताएका छन् ।

यो घोषणा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकले आयोजना गरेको बैठकमा यसै साता वासिङ्टनमा भेला भएका विश्वका वित्त प्रमुख उपस्थितिमा गरिएको हो। वक्तव्यअनुसार, जी-७ का वित्तमन्त्रीहरूले “समानता, समन्वय, न्यायोचित वितरण, र सबै साझेदारहरूबीच ऐक्यबद्धता सुनिश्चित गर्ने प्राविधिक समाधान” मा सहमति जनाएका छन्। जी-७ का नेताहरूले युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने प्रतिबद्धता अटल रहेको दोहोर्‍याएका छन् ।

अमेरिकाले २० अर्ब डलर उपलब्ध गराउने

यसै साता अमेरिकी राष्ट्रपति जो बाइडनले जी-७ प्याकेजअन्तर्गत अमेरिकाले युक्रेनलाई २० अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । जसको ब्याज रुसको रोक्का राखिएको सम्पत्तिबाट तिरिनेछ। यो सहयोगले करदाताहरूमाथि कुनै अतिरिक्त बोझ नपार्ने बताइएको छ ।

‘हाम्रो प्रयासले स्पष्ट गर्छ कि तानाशाहहरूले उनीहरूद्वारा गरिएका क्षतिका लागि जिम्मेवारी बहन गर्नुपर्छ,’ बाइडनले भनेका छन् ।
(एएफपी/रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *