कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

न्भेष्टाेपेपर । असाेज १७, २०८१

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।

‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नारा का साथ भृकुटीमण्डपमा आजदेखि सुरु भएको हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्घाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताउनुभयो । 

केही समययता जुम्लालगायतका जिल्लामा स्याउको बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाइएपछि सरकारले त्यसको बजारीकरण गर्न चासो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताउनुभयो ।

“सरकारले कृषकलाई प्रोत्साहित गर्न उनीहरूले उत्पादन गरेका खाद्य पदार्थ तथा वस्तुको बजारीकरण गर्ने तयारी गरिरहेको छ, अहिले पनि कर्णालीको सिमी र मार्सी चामललगायत वस्तु खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गरिरहेको छ, अब कम्पनीले हिमाली तथा पहाडी जिल्लाका किसानलाई प्रोत्साहित गर्न अन्यत्र बिक्री हुन नसकेका वस्तु खरिद गर्नेछ”, उहाँले भन्नुभयो । 

यस्तै, मन्त्री भण्डारीले नेपाली उत्पादनको निर्यात वृद्धि आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले अहम् भूमिका खेल्ने भनाइ राख्नुभयो । सो एक्स्पोबाट हस्तकलासँग सरोकार राख्ने लघु तथा मझौला उद्यमीका लागि लगानी र व्यापार दुवैको अवसरसमेत सिर्जना भएको उहाँको भनाइ छ ।

उहाँले नेपाली उत्पादनको उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “उद्योग मन्त्रालयले अहिले स्वदेशी वस्तुको उपभोगलाई अनिवार्य गराउने अभियानअनुसार स्वदेशी वस्तुको उपभोगका विषयमा कार्यविधि बनाइरहेको छ, कार्यविधिले पहिलो चरणमा सरकारी निकायबाट स्वदेशी वस्तुको उपभोग अभियानको सुरुआत गरेर बिस्तारै देशव्यापी बनाइने छ, कार्यविधि लगभग अन्तिम चरणमा छ ।”

यस्तै, मन्त्री भण्डारीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको आवश्यकता औँल्याउँदै निजी क्षेत्रसँगको सहकार्यमा प्रदर्शनीस्थल निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो । साथै उहाँले निजी क्षेत्रसँगकै सहकार्यमा जीर्ण एवं बन्द अवस्थामा रहेका देशका उद्योग तथा कलकारखाना सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताउनुभयो । 

कार्यक्रममा सांसद ज्ञानेन्द्र शाही, सांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियालगायत वक्ताहरूले स्वदेशी वस्तुको उपभोगमा जोड दिँदै बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गरिनुपर्ने र युवा जनशक्ति पलायन रोक्नुपर्नेमा जोड दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *