दसैंमा पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

इन्भेष्टाेपेपर । कार्तिक ६, २०८३

काठमाडौँ । दसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ ।  

दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । 

चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा बिदेसिने युवाको संख्या बढ्दो छ ।  

अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । 

यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताउनुभयाे । उहाँले भननुभयाे, ‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।’

शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उहाँको भनाइ छ ।

विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको  बताउँनुहुन्छ ।

‘नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरुको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,’ उहाँले भननुभयाे ।

यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउँनुहुन्छ ।  

दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *