अहिलेसम्मकै भयङ्कर ज्वालामुखी जसले पृथ्वीकाे तापक्रम नै घटायाे

न्भेष्टाेपेपर । कात्तिक ९, २०८०

काठमाडौं ।  सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ। ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन ।

यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको  सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो।

जसले गर्दा पृथ्वीको तापक्रम घट्न थाल्यो र करिब तीन डिग्री तापक्रम कम भयो। तापक्रम कम भएका कारण अर्को वर्ष मौसमको स्वरूपमा ठूलो फेरबदल हुन पुग्यो। भारतमा ताम्बोरा विस्फोटका कारणले गर्दा कतै सुक्खा त कतै बाढीले बङ्गालको खाडीको पारिस्थितिक प्रणाली नै परिवर्तित भयो। त्यस नौलो परिस्थितिले हैजाको नयाँ नस्ल विकास भई लाखौँ मानिसले ज्यान गुमाउनु परेको थियो। 

युरोपमा मुसलधारे वर्षा र निरन्तर अत्यधिक चिसोले अकाल पर्यो तथा सामाजिक अशान्ति मच्चियो। अमेरिकामा जुन महिनामै केही राज्यमा ठूलो हिमपात भई बालीनालीमा व्यापक क्षति भएर आर्थिक अवस्था डामाडोल भयो।

न्यु इङ्ग्ल्यान्डका बासिन्दाले पछि १८१६ लाई उपनाम दिए ‘एट्टिन–हन्ड्रेड–एन्ड–फ्रोज–टु–डेथ’ । तर त्यो समस्या धेरैपछि आएर ‘ग्रीष्म ऋतुबिनाको वर्ष’ कहलियो। मौसमसम्बन्धी व्यवधानले केही असामान्य नतिजासमेत देखियो। जसको लाभ मानव समुदायलाई भयो।

असामान्य मौसमको प्रभावले गर्दा युरोपमा घोडाको चारा धेरै वृद्धि भएको थियो। घोडा पाल्न नसकिने भएपछि जर्मनीका आविष्कारक कार्ल ड्रेइस साइकल बनाउन प्रेरित भएको विश्वास गरिन्छ ।  (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *