कतार सरकाले श्रमिकको तलब बढायाे, अब कम्तिमा ५० हजार रुपैयाँ हुने

इन्भेष्टोपेपर । पुष ९, २०७८

काठमाडौँ ।  कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो ।

नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपियाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपियाँभन्दा बढी पुगेको जनाइएको छ ।

दूतावासका अनुसार अब खानबस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी एक हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक एक हजार ८०० रियाल दिनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन् ।

कतारको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम पारिश्रमिक पाइरहेका तीन लाख आठ हजार १४६ जनाले एक हजार ८०० रियाल पारिश्रमिक पाउन थालेका छन् ।

कोरोना महामारीको समयमा विदेशी श्रमिकलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ ।
आगामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बरमा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को कार्यालय कतारको राजधानी दोहामा राख्न दिएर काम गर्न थालेको छ ।

“आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी श्रमिकको हकमा खाडी देशमध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ । कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ,” कतार सरकारले घरेलु श्रमिकको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्टमा भनिएको छ ।

काठमाडौँस्थित कतारको दूतावासले विज्ञप्तिमार्फत कतारमा घरेलु श्रमिकका लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्ययोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको जनाएको छ । कतार सरकारले घरेलु श्रमिकलाई अन्य श्रमिकसरह व्यवहार गर्ने सेवासुविधा प्रदान गर्ने, आराम तथा बसोबासको व्यवस्था गर्ने र उनीहरूलाई काम चित्त नबुझेमा रोजगारदाता परिवर्तन गर्न अधिकार दिएको पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

साथै नयाँ व्यवस्थाअनुसार कतारमा रहेका सबै प्रकारका श्रमिकलाई समस्या परेको खण्डमा गुनासो टिपाउन छुट्टै हटलाइन र काम गर्न नसक्नेलाई अस्थायी सेल्टरको व्यवस्था गरिने जनाइएको छ । विदेशी श्रमिकको रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको जनाइएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार हाल कतारमा साढे तीन लाख नेपाली घरेलु श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *