जुम्लामा हिउँदे भैलोको रौनक

न्भेष्टाेपेपर । पुस २५, २०८१

जुम्ला  ।  जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ । 

पुस १५ बाट जुम्लामा सुरु भएको भैलो अहिले जुम्लाका गाउँबस्तीमा चलिरहेको छ । स्थानियले गाउँबस्तीसहित सरकारी कार्यालयमा भैलो खेल्न थालेका छन् । पुसको औँसी वा प्रतिपदाका दिनदेखि खेलिने भैलोको आफ्नै महत्व छ ।

तातोपानी गाउँपालिका–१ का पहलमान कुँवरका अनुसार यस वर्ष पनि परम्परागत भैलो खेलिएको छ । उहाँले गाउँका बुढापाकादेखि युवाले मौलिक वेशभूषामा खस संस्कृतिको भैलो खेलिएको बताउनुभयो । महिला तथा बुढाबुढी स्थानीय गीत गाएर भैली भन्दै हरेक आफन्तले घरको आँगनमा जाने र भैलो खेल्ने चलन रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार अहिले कार्यालयमा समेत भैलो खेल्न थालिएको छ । घर घरमा भैलो खेल्ने र त्यहाँबाट प्राप्त चामल, दाल र नगद पछि पाटेभात (वनमा गएर खाने भोज) खाने चलन छ । 

खस संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार १२ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजाको पालादेखिे हिउँदे भैली खेल्ने चलन रहेको छ । दशकअघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महìवपूर्ण पर्वका रूपमा लिइने उहाँको भनाइ छ ।

जानकारका अनुसार फुर्सदको हिउँदे मौसमलाई ध्यानमा गर्दै मङ्सिर पूर्णिमामा सानी भैलो सकाएर पुस औँसी वा कृष्ण प्रतिपदाबाट ठुली हिउँदे भैलो सुरु हुने गर्छ । हिउँद महिनामा कुनै पनि चाडपर्व नहुने भएकाले न्यास्रोपनालाई हटाउन हिउँदे भैली खेल्ने चलन भएको जानकार बताउँछन् । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *