दशैँकाे समयमा चङ्गा उडाउने परम्परा सङ्कटमा

इन्भेष्टाेपेपर ।  असाैज १५, २०७९

काठमाडौँ  ।  दशैँको आगमनसँगै काठमाडौँ उपत्यकामा आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशैँ सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ । आकाशमा फाट्टफुट्ट देखिने चङ्गाको कारण भने बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्ट फोनप्रतिको बढ्दो मोह नै हो ।  

चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएकोमा चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको संस्कृतविद्् गणेशराम लाछी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “इन्द्रजात्रा सकेलगत्तै चङ्गा उडाउँथ्यौँ तर अहिलेका बालबालिकादेखि युवा पुस्ता मोबाइलमै झुन्डिएको देख्दा यो इतिहास बन्नेजस्तो लाग्छ । अब केही वर्षमा चङ्गा र लट्टाई सङ्ग्रहालयमा हेर्न जानुपर्छ ।” 

असनमा विगत ४१ वर्षदेखि चङ्गा पसल गर्दै आउनुभएका अनिल श्रेष्ठले पाँच÷छ वर्षअगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिनामा ५० लाख रुपियाँको चङ्गा बिक्री गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले भने त्यस्तो छैन । चार÷पाँच लाखको बिक्री हुन पनि मुस्किल छ ।” कागज, प्लास्टिक तथा कपडाको चङ्गा रहेको सो पसलमा भारत र चीनबाट सामान आउने जानकारी दिनुभयो । 

लट्टाई भने नेपालकै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरैजसो प्लास्टिकको चङ्गा रुचाइन थालेको छ, किनभने यो पानी परेको बेलामा पनि उडाउन मिल्छ ।”  भक्तपुरमा २५ वर्षदेखि चङ्गा व्यापार गर्दै आउनुभएका शर्मिला राजभण्डारीले पनि चङ्गाको व्यापार पहिलाभन्दा निकै खस्केको बताउनुभयो । उहाँले विगतका वर्षमा साउनदेखि भाइटीकासम्म हुने चङ्गाको व्यापार हाल करिब ठप्पै भएको गुनासो पोख्नुभयो ।

चङ्गा उडाउनुको धार्मिक मान्यता

धार्मिक मान्यताअनुसार दशैँमा चङ्गा उडाउनुको प्रमुख कारण भने खेतीबालीका लागि आवश्यक पानी पुग्यो भन्ने सन्देश भगवान् इन्द्रकहाँ पु¥याउनु हो । संस्कृतिविद् लाछीका अनुसार खेतीकिसानीको काम सकिएपछि चाडपर्वको लहर सुरु हुने यस समयमा चङ्गा उडाउने चलन विगतमा निकै रहेको थियो । अर्कोतिर उक्त परम्परालाई मनोरञ्जनका रूपमा समेत लिइन्छ । वर्षा ऋतुको समाप्ति र शरद ऋतुको आगमनसँगै मनमोहक मौसमको आनन्द लिँदै चङ्गा उडाउनुलाई मनोरञ्जनको विषयसँग जोडेको पाइन्छ ।

आकाशमा चङ्गा नउडेसम्म दशैँ आएको अनुभव नहुने र चहलपहल सुरु नहुने पुरानो मन्यता थियो तर हाल भने आकाशमा खासै चङ्गा उडेको देखिँदैन । उहाँले चङ्गाको साइनो रमाइलोसँग मात्र नभई मौसमी अवस्थाबारे जानकारी गराउने बताउनुभयो । चङ्गा उडाउनुलाई खुला र मोहक मौसमको सूचकका रूपमा लिइने चलन परापूर्व समयदेखि चल्दै आएको हो । 

विजय र वर्चस्वको सङ्केत दिएर चाडवर्पमा उडाइने चङ्गालाई एक रोमाञ्चक खेल मात्र नभई जीवन दर्शनसमेत मान्न सकिने अग्रजहरूको बुझाइ छ । दशैँमा उडाइने चङ्गालाई उमङ्ग, स्वच्छन्द एवं उचाइको प्रतीक मानिन्छ । चङ्गा उडाउँदा आफ्नो दुःख, पीर, दम्भ, रिसराग भुल्ने र मनमा एक प्रकारको उमङ्ग छाउने विश्वास रहेको पाइन्छ । यसले आफूभित्रको महŒवाकाङ्क्षालाई जगाउनुका साथै आकाशझैँ उचाइमा पुग्नुपर्ने सन्देश दिने बुझाइ समाजशास्त्रीहरूको रहँदै आएको छ ।

चङ्गाको इतिहास हेर्दा निकै लामो देखिन्छ । चङ्गाको आविष्कार चीनको इसापूर्व तेस्रो शताब्दीमा भएको भेटिन्छ । चिनियाँ दार्शनिक हुआगं थेगले पहिलो पटक चङ्गाको आविष्कार गरेको इतिहास पाइन्छ । यसरी हेर्दा चङ्गाको इतिहास २३ सय वर्ष पुरानो छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *