संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै
इन्भेष्टोपेपर । पुष १०, २०७८
काठमाण्डाै । अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ ।
फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत यो टेलिस्कोपकाे प्रक्षेपण हुने छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ ।

नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन् । टेलिस्कोपले पृथ्वीमा उडेको चराको तस्बिर पनि अन्तरीक्षबाटै स्पष्टरुपमा खिच्न सक्ने नासाले जनाएको छ ।
अहिलेसम्म अन्तरिक्षमा पठाएको टेलिस्कोपमध्ये सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपलाई शक्तिसाली मानिन्छ । नासाले आज प्रक्षेपण गर्न लागेको टेलिस्कोप हब्बल भन्दा एक सय गुणा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।

सूर्यको किरणबाट यसलाई जोगाउन टेनिस कोर्टको आकारका ५ वटा तहका सनसिल्ड लगाइएको छ । टेलिस्कोपको व्यास २१ मिटर छ । यसलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजना मानिएको छ ।
यस टेलिस्कोपले ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका ग्यालेक्सी, उल्कापिण्ड र ग्रहलाई पनि पत्ता लगाउने अपेक्षा रहेको नासाले जनाएको छ । जेम्स वेब टेलिस्कोपलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजना मानिएको छ ।

