प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

इन्भेष्टोपेपर । पुष २९, २०७८

लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।

हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उहाँको भनाइ छ । सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीति नियम व्यावहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालले बताउनुभयो ।

“कुनै पनि देशमा छोटो समयमा आर्थिक विकास भएको छ भने स्थानीय लगानी र वाह्य लगानीलाई सपोर्ट गरेकै कारण भएको छ,” ढकालले भन्नुभयो, “मलेसियाका प्रधानमन्त्री डा.महाथिर नेपाल आउँदा उहाँलाई मैले कसरी मलेसियाको तीव्र आर्थिक विकास सम्भव भयो भनेर सोधेको थिएँ र उहाँले स्वदेशी र विदेशी दुवै लगानीलाई आफ्नै लगानीको व्यवहार गरेका कारण सम्भव भएको बताउनुभएको थियो ।” निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने भन्दै उहाँले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा उपस्थित कार्यक्रममा उहाँले यस प्रदेशले मुलुककै पर्यटनको नेतृत्व गर्नसक्ने बताउनुभयो । पर्यटनसँगै कृषि, जलविद्युत् लगायतका क्षेत्रमा गण्डकी प्रदेश अब्बल रहेको उहाँको भनाइ छ । उचित नीतिको अभावका कारण व्यवसायीलाई उत्प्रेरित गर्न नसकेको स्मरण गर्दै ढकालले त्यसका निम्ति पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

मुलुकका हरेक क्षेत्रमा जाँदा पर्यटनमा केही गरौं भन्ने स्थानीय तहका प्रमुखले आग्रह गर्ने गरेको स्मरण गराउनुभयो । आफूहरु जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यक्रममा जाँदा लगानीका सम्भावनाहरुको खोजी गर्ने गरेको र महासंघका अन्य सदस्यहरुलाई सहकार्यमा लगानीका लागि आग्रह गरिरहेको कार्यक्रममा ढकालले जानकारी दिनुभयो ।

लमजुङमा गैरआवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । लमजुङमै बैंकिङ क्षेत्रमा पनि लगानीमा सहकार्य गरेको स्मरण गराउँदै अब भने पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न चाहेको धारणा राख्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *