पुँजीबजारको विकासमा सघाउ पुर्याउन प्रदेश नं. १ तयार
इन्भेष्टोपेपर । पुष ११, २०७८
बिराटनगर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको बिरुद्धमा सरकार नरहेको बताउनु भयाे । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ, कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पुर्याउन सहयोग गर्छौं, मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ मुख्यमन्त्री राईले भन्नुभयाे ।
यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताउनु भयाे । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यता अनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयाे ।
बोर्डले प्रदेशस्तरमा पुँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी गराउनु भयाे । ‘प्रदेशमा बोर्डको आवश्कता महशुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’ उहाँले भन्नुभयाे ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।
नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पुँजीबजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए । उनले मोफसलमा पुँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पुँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नु पर्ने आवश्यकता औांलाउनु भएकाे थियाे ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पुँजीबजारको सदुपयोग गर्न नसकेको बताउनु भयाे। राजधानी बाहिर पुँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उहाँको बताउनु भयाे ।
कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिनु भएकाे कार्यक्रममा १ सय ५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, पत्रकार, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो ।