आज विश्व माटो दिवस मनाइँदै

इन्भेष्टाेपेपर ।  मंसिर १९, २०७९

काठमाण्डौ । आज विश्व माटो दिवस पनि मनाइँदै छ । स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउँदै आइएको छ ।

जमिनमूनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ । तर, जथाभाबी विषादी र रासायनिक मलको प्रयोगले माटो बिग्रन थालेको छ । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको रहेको पाइएको छ ।

‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतीयोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, ४–५ प्रतिशत क्षारीय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ रहेको पाइएको हो । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ ।

कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा धेरै रहेको पाइएको छ ।

प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनुआवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।

विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग कम हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढ्नु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटो बिग्रने गरेको बताउनुभयो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *